छानबिन नसकेसम्म एनपीएलको काम रोक्न क्यानलाई निर्देशन


काठमाडौं।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा देखिएको सम्भावित अनियमितताको छानबिन पूरा नभएसम्म नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलको दोस्रो संस्करणसँग सम्बन्धित कुनै पनि काम नगर्न निर्देशन दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य रञ्जना प्रधानको संयोजकत्वमा गठन गरिएको छानबिन कार्यदलले आइतबार क्यानलाई पठाएको पत्रमार्फत यस्तो निर्देशन दिएको हो । कार्यदलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट र तथ्यपरक जवाफ दिन पनि क्यानलाई आग्रह गरेको छ ।

उजुरीमा उठाइएका विषयमा क्यानले अहिलेसम्म दिएको जवाफ अपूरो र झारा टार्ने किसिमको रहेको भन्दै कार्यदल असन्तुष्ट देखिएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरिएको उक्त पत्रमा छानबिन नसकिँदासम्म एनपीएलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न र नगराउन स्पष्ट भनिएको छ ।
कार्यदलले यसअघि २०८२ जेठ २६ मा पनि क्यानलाई पत्र लेख्दै आवश्यक कागजात पेश गर्न भनेको थियो । तर, मागिएको विवरण नपुगेको भन्दै पुनः असार २२ गते कडा भाषा प्रयोग गरेर दोस्रो पत्र पठाइएको हो ।

कार्यदलकी संयोजक प्रधानका अनुसार छानबिन मन्त्रालयको निर्देशनअनुसार भइरहेको छ र तयार पारिने प्रतिवेदन पनि मन्त्रालयलाई नै बुझाइनेछ । उनले भनिन्,–“हामीले क्यानलाई केही प्रश्नसहित पत्र पठाएका छौं, जवाफ आएपछि प्रतिवेदन तयार पार्नेछौं ।”

राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने यस कार्यदल राखेपको सिधा आदेश वा संरचनाभित्र नपर्ने बताएका छन् । उनले मन्त्रालयको निर्देशनमा कार्यदल बनेको भन्दै राखेपको संलग्नता नभएको प्रष्ट पारे ।

एनपीएलको पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य रूपमा सम्पन्न भएको थियो । तर, प्रतियोगिता सम्पन्न भइसकेपछि क्यानले आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको भन्दै अख्तियारमा उजुरी परेको हो । ६ महिनासम्म पनि वित्तीय विवरण सार्वजनिक नगरेपछि क्यानकै केही सदस्यहरूले नेतृत्वविरुद्ध गुनासो समेत गरेका छन् ।

एनपीएलको सम्बन्धमा उठेको विवादका सन्दर्भमा राखेपले क्यानका अध्यक्ष चन्दलाई एक पत्र पठाउँदै तीनवटा मुख्य प्रश्न उठाएको छ । राखेपले पठाएको उक्त पत्रमा सार्वजनिक खरिद ऐनको उल्लंघन, अपारदर्शी बोलपत्र प्रक्रिया र विदेशी नागरिकलाई परामर्शदाता नियुक्त गर्ने संवैधानिक वैधता जस्ता विषयमा स्पष्ट जवाफ माग गरिएको छ ।

क्यान अध्यक्ष चन्दले कार्यदलको पत्र प्राप्त भइसकेको र त्यसका जवाफहरू तयारी गर्न सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कालाई निर्देशन दिइसकेको बताएका छन् ।

उनले क्यानको बोर्ड बैठक जुलाई अन्त्यमा बोलाउने र त्यसपछि सबै विवरण राखेप तथा सरकार समक्ष सार्वजनिक गरिने जानकारी दिएका छन् । यद्यपि चन्दले एनपीएलको दोस्रो संस्करण रोकिनुपर्ने कुनै कारण नभएको दाबी गर्दै अझ भव्य बनाउने तयारी भइरहेको बताए ।

तर, अख्तियारमा उजुरी परेको विषयमा छानबिन नसकिएसम्म आयोजनासँग सम्बन्धित कार्य अघि बढाउने हो कि होइन भन्ने विषयमा अन्यौल देखिएको छ । कार्यदलले अन्तिम चेतावनी दिँदै यदि मागअनुसारका प्रमाण र स्पष्ट जवाफ नपाए कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ । यसले गर्दा एनपीएलको दोस्रो संस्करण तोकिएको समयमा सञ्चालन हुने वा नहुने भन्ने विषयमा अन्यौल सिर्जना भएको छ ।