एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता


कठमााडौँ
एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विदेशी पर्यटकलाई नेपालमा सहज डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यले ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार ‘अलीपे प्लस’ नेटवर्क प्रयोग गर्ने विदेशी पर्यटकले अब एनआईसी एशिया बैंकमा आबद्ध नेपालपे क्युआर मर्चेन्टमा सोझै भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

हाल ‘अलीपे प्लस’ नेटवर्कमा चीन, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया, मंगोलिया, फिलिपिन्स, मकाउ, इटाली, जर्मनी लगायतका देशका भुक्तानी सेवा प्रदायक आबद्ध छन् । यस सम्झौता कार्यान्वयनमा आएपछि ती देशबाट नेपाल भ्रमणमा आउने पर्यटकले आफूले प्रयोग गरिरहेको बालेट वा बैंकिङ एपबाट सीधा नेपालपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

यस सम्झौताले नेपालमा अन्तरदेशीय डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण फड्को मारेको बैंकको भनाइ छ । विदेशी पर्यटकहरूले नगद विनिमय वा अन्य जटिल प्रकृया बिना नै मोबाइल एपमार्फत सहजै सेवा तथा सामानको भुक्तानी गर्न पाउने भएकाले डिजिटल पर्यटन कारोबारमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकले नेपालभर फैलिएको नेपालपे क्युआर नेटवर्कमार्फत ग्राहक तथा व्यवसायीहरूलाई डिजिटल भुक्तानीको सरल र सुरक्षित विकल्प प्रदान गर्दै आएको छ । एनसीएचएलसँगको सहकार्यले यो सेवा अब अन्तरदेशीयस्तरमा विस्तार भई पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।