नेवाःपहिचानबारे रेडियो नेपालको अनुसन्धान प्रतिवेदन हस्तान्तरण


 ललितपुर।

 सार्वजनिक सेवा प्रसारण, नेपाल (पीएसबी, नेपाल) काकार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई प्राज्ञिक अनुसन्धानकर्ता उपेश महर्जनले आफ्नो अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

रेडियो नेपालबाट प्रसारण भइरहेको नेपालभाषाका समाचार र कार्यक्रम जीवनदबूले नेवाः समुदायको पहिचान निर्माणमा निर्वाह गरेका आयामहरुबारे महर्जनले अनुसन्धान गरेका थिए ।

सिंहदरबारस्थित पीएसबी, नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले अनुसन्धान प्रतिवेदनका निष्कर्षहरुले पत्रकारिताको क्षेत्रमा सरकारी सञ्चारगृहले आदिवासी जनजाति र भाषिक पहिचानमा टेवा पुगेको बताए ।

स्वतन्त्र अनुसन्धान नहुनाको कारण सरकारले गरेका राम्रा कार्यहरु जनता समक्ष नपुगेको अवस्थामो सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गर्न यस्ता अनुसन्धानले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

रेडियो नेपालले नेपालभाषा (नेवारी)को समाचार र कार्यक्रम मार्फत् नेवाः समुदायको पहिचान निर्माण गर्न अहम् भूमिका खेलेको निष्कर्ष छ ।

सरकारका नीति नियम, कार्यक्रम र सन्देश प्रत्यक्ष रुपमा सञ्चार भइरहँदा त्यसले अप्रत्यक्ष रुपमा नेवाः समुदायको पहिचानलाई पनि स्थापित गर्दै हक अधिकार सम्बन्धि वकालत हुने गरेको अनुसन्धानमा उल्लेख छ ।

यस्तै, भाषा, कला, संस्कृति, संगीतको क्षेत्रको संरक्षण गर्नुको साथै प्रवर्द्धनमा विशेष योगदान दिएको सार्वजनिक भएका छन् ।

पहिचान र अधिकारका विषयमा निजी तथा सामुदायिक रेडियोले मात्र आवाज उठाउन सक्छ भन्ने निष्कर्षमाथि नेपालको सन्दर्भमा७५ वर्षदेखि नै रेडियो नेपालबाट आंशिक अवसर र सुविधा हुने गरिएको पाइएको छ ।

विश्वविद्यालय अनुदान आयोग र कीर्तिपुरस्थित मंगल बहुमुखी क्याम्पसको अनुसन्धान अनुदानमा पत्रकारितामा क्रियाशील अनुसन्धानकर्ता महर्जनले अनुसन्धान गरेका हुन् ।

मात्रात्मक र गुणात्मक मिश्रित अनुसन्धानविधि प्रयोग गर्दै वर्णनात्मक र विश्लेषणबाट निष्कर्ष निकालिएको उनको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सोही अवसरमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा प्रकाशित स्मारिका पनि उनले अध्यक्ष डा. विष्टलाई हस्तान्तरण गरे ।