टेक्सास बाढी: १५ बालबालिकासहित ५१ जनाको ज्यान गयो, दर्जनौं अझै बेपत्ता


टेक्सास, अमेरिका।

अमेरिकाको टेक्सासमा आएको विनाशकारी बाढीले हालसम्म ५१ जनाको ज्यान लिएको छ, जसमा १५ बालबालिका पनि परेका छन्। राज्यका विभिन्न भागहरू प्रभावित भइरहँदा उद्धार कार्य तीव्र पारिएको छ।

सबैभन्दा बढी असर केर काउन्टीमा परेको छ, जहाँ मात्र ४३ जनाको मृत्यु पुष्टि गरिएको छ। यस्तै, ग्वाडालुप नदीको किनारमा रहेको एक क्रिश्चियन युवा शिविरबाट २७ किशोरीहरू अझै बेपत्ता छन्। टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकका अनुसार, हराइरहेका मध्ये धेरैजसो १२ वर्ष मुनिका बालिकाहरू हुन्।

केर काउन्टीका शेरिफ ल्यारी एल. लेथाले भने, “एकएक जना हराएकालाई पत्ता नलाग्दासम्म खोजी अभियान रोकिँदैन।” हालसम्म उद्धार टोलीहरूले ८५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेका छन्।

अन्य प्रभावित क्षेत्रहरूमा ट्राभिस काउन्टी र टम ग्रीन काउन्टी पनि परेका छन्, जहाँ थप मृत्युको पुष्टि भएको छ। राज्यका विभिन्न भागहरूमा अझै बाढीको जोखिम कायम रहेको बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय प्रशासनसँग मिलेर संघीय सरकारले आपतकालीन अवस्थामा सक्रिय सहयोग गरिरहेको जानकारी दिएका छन्।

राष्ट्रिय मौसम सेवा (NWS) ले आगामी दिनहरूमा अझै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी शनिबारसम्म २ देखि ५ इन्च (५–१२ से.मी.) वर्षा हुने सम्भावना छ भने, केही स्थानहरूमा वर्षा १० इन्चसम्म पुग्न सक्ने चेतावनी दिइएको छ। यस्तो अवस्थामा बाढीको जोखिम झनै बढ्न सक्छ। बीबीसी