डी.आर.को कथासङ्ग्रह खोक्पाको शीर्षकले नै मनमा अनेक जिज्ञासाहरू जगाइदियो । धेरै नसुनेको तर पृथक् किसिमको यस शब्दको अर्थ बुझ्न एकछिन् घोरिन बाध्य भएँ । सुन्दर आवरणसँग यी शब्दको अभिप्रायलाई तुलना गरेपछि यसभित्रका कथामा दुःख, वेदना, सङ्घर्ष, अपूर्णता तथा रापको समष्टिरूप अटाएको हुनुपर्छ भन्ने लाग्यो । प्रकृतिमाथिको विनाशले निम्त्याएका कठिन परिस्थितिप्रतिको पर्यावरणीय चेतनाले अनुमानको परीक्षण गर्दै खोक्पाभित्रका रहस्य उघार्नका लागि हरेक कथाभित्र डुबुल्की मार्न मन लाग्यो ।
यसभित्रको पहिलो कथा ‘बूढो रुख’मा दुवै अनुमानको मेल भयो । वृद्ध अवस्थामा एकल पुरुषले भोग्नुपरेका समस्या, सन्तान टाढिँदा र श्रीमतीले छाडेर जाँदाका वेदनालाई बूढो रुखको सादृश्यमा मार्मिक रूपमा प्रस्तुत गरिएको रहेछ । यसले जवानीमा सबैले हाइहाइ गरे पनि अशक्त अवस्थामा कसैको ध्यान नखिचिने मानवजीवनसँग रुखको जीवनलाई जोड्दै आफू बाँचुन्जेल घरमाथिको वृद्ध रुखलाई काट्न नदिने बडा पात्रको अडानका माध्यमबाट प्रकृतिप्रतिको मानव प्रेम तथा आत्मीय सम्बन्धलाई देखाइएको छ । शहरी जीवनको कोलाहल र प्रदूषणबाट आजित बनेका युवाको ध्यानसमेत ग्रामीण जीवनतर्फ आकर्षित भएको भावका माध्यमबाट प्रकृतितर्फ फर्क भन्ने पश्चिमी दार्शनिक रुसोको अवधारणालाई यसले स्मरण गराएको छ ।
प्रकृति र मानवीय सम्बन्ध मात्र नभएर खोक्पाभित्रका कथामा शिक्षित युवाका बेरोजगार अवस्थाका मार्मिक दृश्य पनि कथावस्तु बनेर समेटिएका छन् । ‘पुच्का’ शीर्षकको कथाले व्यवसायमा लागेका व्यक्तिको अनुकरण गर्दै प्रेमिकालाई छाडी विदेश जान आँटेको युवाको मन फेरिएर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना पलाएको घटनालाई प्रस्तुत गरेको छ । पराय मुलुकमा वैदेशिक रोजगारीका नाममा हराएका युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । इच्छाशक्ति भए सफलता चुम्न विदेश नै पुग्नुपर्ने जरुरी नभएको विचारका माध्यमबाट देशप्रेमको भावलाई यस कथाले उजागर गरेको छ ।

विदेशमा सङ्घर्ष गरिरहेका नेपालीहरूलाई पनि स्वदेश फर्कने आह्वान गरिएका ‘परिवर्तन’ शीर्षकको कथामा उदयमानले कृषि क्षेत्रमा पाएको सफलता र त्यसको देशविदेशमा बढ्दै गएको चर्चामा लोभिएका पवन र दीपिकाको योजना कथावस्तु बनेको छ । खासगरी अमेरिकामा बसेर पनि उदयमानले नेपालमा पाएको सफलतालाई नियालिरहेको पवनजस्तो युवापुस्तालाई नेपाल फर्किएर श्रम र सीप लगाई कृषि क्षेत्रमा केही गर्ने उत्साह भरिदिने यस कथाले देशप्रेमलाई नै प्राथमिकताका साथ प्रस्तुत गरेको छ । आफ्नो देशलाई आफैँले बनाउने भाव सन्देश ‘….आफ्नो अनुभव र विज्ञतालाई आफ्नै देशमा खर्चेर देश बनाउनुपर्छ’ (पृ.४५) कथाको उक्ति नै काफी छ ।
स्वदेश प्रेम मात्र नभएर पुँजीवादका कारण देशमा बढ्दै गएको विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य गर्नमा समेत डी.आर. खप्पिस देखिन्छन् । उनको ‘परिणाम’ शीर्षकको कथाले अर्काको देखासिकीमा परेकी नारीले भौतिक सुखसयलमा लिप्त हुनका लागि चालेका कदम तथा निर्णयका कारण पाएको दुःखलाई प्रस्तुत गरेको छ । यसमा चेतनाथ र पुष्पाको सुखद जीवनमा ढुकुटी खेलले निम्त्याएको दुःखद परिणाम र पारिवारिक विघटनलाई व्यङ्ग्यात्मकरूपमा अभिव्यक्त गरिएको छ ।
श्रीमतीको जिद्दी र भौतिकवादी दृष्टिकोणलाई टुलुटुलु हेर्न बाध्य चेतनाथको पीडा, पुष्पाको झुटको पर्दाफास, आमाकै कारण छोरीको दुर्गति मात्र नभएर नयनजस्ता असल प्रेमीको उपस्थिति पनि देखिन्छ । उच्च पदस्थ प्रहरीका श्रीमतीहरूको कुलीन संस्कृति र भौतिकताप्रतिको मोहले जन्माएको ढुकुटी खेलबाट धमिलिएको मित्रता र भ्रष्ट बन्दै गएको समाजको यथार्थ चित्रण गरेको छ । भौतिकवाद र पुँजीवादले समाजलाई गलत बाटोमा लाने तथ्यका माध्यमबाट परिवारमा सुख र शान्तिको निर्माणका लागि घाँटी हेरी हाँड निल्नुपर्ने सन्देशसमेत दिएको छ ।
‘हराएको नाता’ काठमाडौँको परिवेशमा केन्द्रित मध्यमवर्गीय परिवारको कथा हो । एकमात्र सन्तान क्यानाडामा परिवारसहित स्थायी बसोबास गरेपछि एक्ली आमाको संवेदना प्रस्तुत गरिएको छ । पारस र इभासँग जान नचाहेकी आमालाई वृद्धाश्रममा पु¥याइएको मार्मिक परिवेशले आजको नेपाली समाज र मानवीय चरित्रको चित्र उतारेको छ ।
रगतको नाताभन्दा भावनाको नाता ठूलो हुने तथ्यलाई घरेलु कामदार भीमसेन र उसकी श्रीमती शान्ताको व्यवहारले पुष्टि गरेको छ । पचासी बर्से वृद्धले आफनो छोराको साथ नपाए पनि भीमसेनले वृद्धाश्रमबाट फर्काएर आफ्नै घरमा पालेपछि आमाको इहलीला समाप्त भएको घटनाले नेपाली समाजमा बढ्दै गएको युवाको विदेश पलायन तथा ज्येष्ठ नागरिकको बिचल्लीको सन्दर्भलाई प्रस्तुत गरिएको छ ।
‘रवि’ शीर्षकको कथा तेजाव आक्रमणका कारण जीवन तहसनहस भएकी युवतीको कथा हो । ग्रामीण भेगबाट उच्चशिक्षा अध्ययनको उद्देश्यले शहर पसेका नारीहरूको पीडा र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । आफ्नो प्रेमी चिरणलाई खोसेको आरोपमा षडयन्त्रवश स्नेहाले रक्षाको अनुहारमा तेजाब हान्न लगाएको र प्रेमीलाई लिएर अमेरिका भासिएपछि एकल आमाका रूपमा कुरूप रक्षाको सङ्घर्षको जीवन्त चित्रण गरिएको छ ।
बाबुविनाको छोरा हुर्काउन एक्ली आमाले गरेको सङ्घर्ष, खेपेका अपमान र स्त्रीलम्पट विवेकले जीवनमा अनेक हण्डर खाए पनि अन्त्यमा सडकछाप विवेक र रक्षाको पुनर्मिलन देखाइएको छ । गलत कार्यको सजाय यही जुनीमा भोग्नुपर्ने वास्तविकताका साथ निःस्वार्थ प्रेमको जहिल्यै जित हुने सकारात्मक सन्देश दिएको छ ।
‘नयाँ बाकस’ वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक समस्याको यथार्थ चित्रण गरिएको कथा हो । यसमा सामाजिक विषयका साथै बालमनोविज्ञानलाई समेत प्रस्तुत गरिएको छ । बिहेपछि उदाहरणीय जोडी बनेका जनक र जानकीको जीवनमा वैदेशिक रोजगारले सिर्जना गरेको परिस्थिति, शारीरिक आवश्यकता परिपूर्तिका कारण परपुरुष तथा परस्त्रीसँग फस्न पुगेका जोडीको कारुणिक विछोड र जानकी परपुरुषसँग गएपछि अबोध बच्चाको बिचल्ली अनि पिताको मृत लास बाकसमा फर्किएकोलाई खेलौना ठानी खुशीमा व्यक्त गरेका भावले कथालाई निकै मार्मिक तुल्याएको छ । सामाजिक सञ्जालले निम्त्याएको दुर्घटना, बालमनोविज्ञानसमेत समेटिएको यो सामाजिक यथार्थवादी कथा हो ।
व्यक्तिगत स्वार्थमा लिप्त सामन्ती सोच बोकेको टारघरे बूढाको कथा हो ‘गाडधन’ । यसमा गाडधन पाउने लालचमा आफूसँग भएको सम्पत्तिसमेत गुमाउँदै गएको स्वार्थी बूढाको चरित्रचित्रण गरिएको छ । पानीको धारा घरघरमा पु¥याउने, खेलमैदान बनाउने, पुल बनाउनेजस्ता काम युवाहरूको उक्साहटमा गरिरहँदा पनि टारघरे बूढाले समाजसेवाका हेतु सुझेको छैन । उसलाई केवल गाडधन हात पर्ला भन्ने लालच मात्रै छ ।
समाज र राष्ट्रले उच्च सम्मान गरेको समाजसेवीले कुन स्वार्थ बोकेर काम गरिरहेको हुन्छ भन्ने आजको तीतो यथार्थप्रति व्यङ्ग्य गरिएको छ । मानसिक असन्तुष्टि र स्वार्थका कारण टारघरे बूढामा देखिएको रोग ठीक भएको, युवाहरूको लक्ष्य पनि पूर्ण बनेको, सकारात्मक ऊर्जाले बिस्तारै बदलिन पुगेको सन्दर्भ पाइन्छ । समाजसेवी र दानवीर कहलाइएका मानिसहरूमा भएका स्वार्थन्धता तथा लोभले लाभ, लाभले विलापको लोकोक्तिलाई कलात्मकरूपमा प्रस्तुत गरिएको छ ।
गोठबहादुर तथा झोकबहादुरजस्ता पात्रहरूको सिर्जना गरी वृद्ध मनोविज्ञानलाई प्रस्तुत गरिएको कथा हो ‘लाहुरेको निसानी’ । ती दुई पात्रका बाल्यकालीन स्मरण, यौवन अवस्थाका उपद्रो, लाहुरे हुँदाको शानलाई विषय बनाइएको छ । ग्रामीण परिवेशको चित्रण गरिएको यस कथामा जुनसुकै देशमा गएर सम्पत्ति कमाए पनि अन्त्यमा स्वदेशमै फर्किएर देशविकासमा लाग्नुपर्ने सन्देश दिइएको छ । पुर्खाले बनाएको गौरव र शानलाई ढल्न नदिन युवापुस्ताले खेल्नुपर्ने भूमिकाप्रति सजग गराइएको यस कथामा वृद्ध मनोविज्ञानले छोरानातिप्रतिको आशा, भविष्यको चिन्ता, वृद्धहरूको सम्मान र लाहुरे जीवनको वीर कर्मप्रतिको गौरवलाई विषय बनाइएको छ ।
‘मायाको चिनो’ प्रेमविषयक कथा हो । यसमा छाया र अमरको बाल्यकालीन प्रेमको वर्णन गरिएको छ । गर्भवती भएपछि प्रेमीबाट परित्यक्ता छायाको अमरसँगको पुनर्मिलनमा कथा टुङ्गिएको छ । एक्ली आमाले हुर्काएको सन्तानले बाबुको परिचय दिन नसक्दा समाजबाटै अपहेलित हुनुपरेको तथ्यलाई प्रस्तुत गरिएको छ । यस्ता बाबुविहीन सन्तानलाई हेर्ने नजरबाट यसै समाजका प्रतिनिधिमूलक पात्रका रूपमा सोविताका बुबा देखा परेका छन् । सोविता र सुविनको प्रेममा तगारो बनेको समाज बाबुको पहिचान खुलेपछि बदलिएको सन्दर्भ पनि यसमा छ । छोराको रहरमा श्रीमती नै गुमाएको अमरको व्यथा नेपाली समाजमा भएको लैङ्गिक विभेदलाई काँध थाप्ने पितृसत्तात्मक सोच बोकेको पुरुष हो । उसले बाल्यकालमा गरेको प्रेम लत्याएर छायालाई दिएको दुःख पनि यसकै प्रतिफल हो ।
कथाभित्र कथाकै चर्चा गर्दै अधि–आख्यानात्मक प्रवृत्तियुक्त कथा लेखनमा पनि डी.आर.को उपस्थिति देखिन्छ । उनको ‘लङ्गडो साथी’ शीर्षकको कथाभित्र आएका कथाको वर्णन, पात्रहरूको चित्रण, कथाभित्र अर्को कथाको शुरुवातले कथाभित्र कथाको चर्चामार्फत यस कथालाई अधि–आख्यानात्मक शैलीयुक्त बनाएको छ । एउटा कथाभित्र अर्को कथालाई समेटेर कथावाचक तथा श्रोताको उपस्थिति यसमा गराइएको छ । कथा सकिएपछि पनि एकचित्त भएर सुनिरहेका विद्यार्थीहरू यसका श्रोता बनेका छन् भने शिक्षकका रूपमा उपस्थित म पात्र कथावाचक बनेका छन् ।
यसरी उत्तर आधुनिकतावादको एक प्रवृत्तिका रूपमा विकसित भएको अधि–आख्यानात्मक प्रवृत्तियुक्त कथाकारका रूपमा पनि यस कथाले कथाकारलाई चिनाएको छ ।
डी.आर.का एघारवटा कथा सङ्गृहीत खोक्पा कथासङ्ग्रहभित्रका कथामा सामाजिक यथार्थदेखि बाल, युवा, वृद्ध मनोविज्ञान तथा नेपाली समाजमा बढ्दै गएको विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य प्रस्तुत भएको छ । आयामका दृष्टिले लामा भए पनि डी.आर.का कथाको सन्देश भने सटिक देखिन्छन् । सुन्दरताका नाममा बढ्दै गएको विकृति, नारीमाथिको अन्याय र शोषण, पितृसत्तात्मक सोच बोकेका पुरुषले पाएको दुःखदेखि परिवार सपार्न र बिगार्नमा महिलाको भूमिकासम्मको विषय उनका कथामा अटाएका छन् ।
यी कथाहरू अनावश्यक गन्थन र पुनरावृत्तिदोषबाट मुक्त हुन नसक्नु तथा सबै कथा सुखान्त नै बनाउने योजनामा लेखक तल्लीन देखिनु यसको विचारणीय पक्ष हो । कथाले कुनै न कुनै सन्देश दिनुपर्छ भन्ने हेतुलाई प्राथमिकतामा राखेर कतिपय कथामा असान्दर्भिक एवम् सोझै सन्देश दिन हतारिनु पनि यसको दुर्बल पक्ष बन्न पुगेको छ । तर नेपाली जनजीवनलाई केन्द्रमा राखिएका यी कथाले विभिन्न वर्ग र समुदायका व्यथालाई सम्बोधन गरेको हुनाले हरेक प्रकारका पाठकले कतै न कतै आफूलाई कथाभित्र भेट्ने सम्भावना प्रबल देखिन्छ ।











प्रतिक्रिया