काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबारको सिनेट बैठक स्थगित गर्न निर्देशन दिनुभएको हो । तिन महिने उपकुलपति प्राडा खड्ग केसीले बजेट ल्याउने अन्तिम तयारी गर्नुभएको थियो ।
कुलपति ओलीले नयाँ उपकुपति नियुक्ति भएपछि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने जनाउँदै भोलिको बैठक स्थगित गर्न निर्देशन दिनुभएको हो । सोही आधारमा बैठक स्थगित भएको हो स्रोतले बतायोे । बैठकमा ग्रेसलिस्ट पाससमेत कार्यतालिका थियो ।
अब नवनियुक्त उपकुलपतिले बजेट, नीति तथा कार्यक्रम र ग्रेस लिस्ट पास गर्न सिनेट बैठक बोलाउनुहुने स्रोतले भन्यो । कुलपति ओलीले तत्काल उपकुलपति नियुक्ति गर्ने योजना अघि सारेपछि आजको बैठक स्थगित भएको हो । तीनमहिने उपकुलपति केसीको साउन २ गते कार्यकाल पूरा हुँदै छ ।
त्यसअघि नै नयाँ उपकुलपनि नियुक्ति गर्ने गृहकार्य शुरू भएको छ । स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट समिति गठन भएको छ ।
सो समितिले ३ जनाको नाम सुटुक्क कुलपतिसमक्ष पेस गरिसकेको स्रोतको दाबी छ । छनोट समितिले विनिल अर्याल, दीपक अर्याल र योगेन्द्र राईको नाम सिफारिस गरेको स्रोतको भनाइ छ । सम्भवत यो महिनाको अन्तिमसम्म नयाँ उपकुलपति नियुक्ति हुने सम्भावना रहेको छ ।
त्रिवि ऐनमा तीन महिने उपकुलपतिले दैनिक कामकाज गर्नेमात्र अधिकार भएकोले नीति तथा कार्यक्रम र बजेट ल्याउन रोक लगाएको अनुमान छ । कुलपति ओलीले वर्तमान उपकुलपति केसीलाई उपकुलपति बनाउने पक्षमा कुलपति नरहेको स्रोतको भनाइ छ ।
रेक्टर पद छाडेर तीनमहिने उपकुलपतिको जिम्मेवारी लिनुभएका केसी फेरि रेक्टरमै फर्कने हो, वा बिदा लिने भन्ने विषयमा निर्णय भइसकेको छैन । स्रोतले दिएको जानकारीअनुसार विनिल अर्याल उपकुलपति भए केसीले रेक्टर नस्वीकार्ने बुझिएको छ ।
अधिकांश पदाधिकारीहरू अघिल्लो कार्यकालका रेक्टर केसी र रजिस्टार केदार रिजाललाई नस्वीकार्ने तयारीमा छन् । तत्कालीन उपकुलपति केशरजंग बरालको कार्यकालका दुई पदाधिकारीलाई हटाएर नयाँ उपकुलपतिले दुवै पदमा नयाँ व्यक्ति नियुक्ति गर्न दिन उपयुक्त हुने अधिकांशको भनाइ छ ।











प्रतिक्रिया