नेता छुटाउन ‘हस्ताक्षर आन्दोलन’ जनताको मुद्दा बिर्सिंदै रास्वपा

11.56k
Shares

काठमाडौं ।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका नेता रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर हस्ताक्षर संकलन अभियानमा होमिएको छ । पार्टीले यसलाई ‘न्यायका लागि राष्ट्रिय अभियान’ भनेको छ भने विपक्षी राजनीतिक दल र विश्लेषकहरूले भने यसलाई ‘फेसन शैलीको पागलपन’ भन्दै चर्को आलोचना गरेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ताहरूको दाबीअनुसार रविलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको हो र उनले कुनै पनि सहकारी ठगीमा संलग्नता छैन । यसै भनाइको आधारमा रास्वपाले काठमाडौंबाट अभियानको थालनी गर्दै देशका विभिन्न सहरहरूमा घुम्तीघर र पार्टी कार्यालयमार्फत हस्ताक्षर संकलन कार्य तीव्र पारेको छ ।

पार्टी महासचिव कविन्द्र कुर्लाकोटी भन्नुहुन्छ– ‘यो कुनै नेताको मात्र विषय होइन, न्यायको कुरा हो । रवि लामिछानेमाथि लागेको आरोप प्रमाणविहीन छन् । हामी देशभरबाट १० लाख हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालतमा बुझाउनेछौं ।’
राजनीतिक दलको आलोचनाअभियानको सन्दर्भमा एमालेका युवा नेता सूर्य थापाले सहकारी पीडितको चिच्याहट सुन्ने नैतिक जिम्मेवारी लिनेहरू, जब आफ्नै नेता फस्छन्, तब न्यायको नाममा आन्दोलन गर्छन् भन्दै त्यो नै ढोँग भएको बताउनुभयो ।
नेपाली कांग्रेसका महासचिव गगन थापाले संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो– ‘न्याय माग्नु सबैको अधिकार हो, तर जनताले भोगेका पीडा भुल्ने र नेतामात्रको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नु गैरजिम्मेवार राजनीति हो ।’

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भन्नुहुन्छ– ‘राजनीति भनेको नेतृत्वको मूल्यांकन गर्ने क्षण पनि हो । सहकारीपीडितको चिहानमा उभिएर गरिएको रिहाइको आन्दोलन जनतासँगको धोका हो ।’राजनीतिक विश्लेषक डा. तुलसी भट्टराई भन्नुहुन्छ– ‘रास्वपाले जुन गतिमा राष्ट्रिय स्तरको जनमत प्राप्त गरेको थियो, त्यही गतिमा अब आत्मघाती मोड लिँदै छ । सहकारी ठगीजस्ता संवेदनशील विषयमा स्पष्ट सन्देश दिन नसकेर उल्टै अभियुक्त छुटाउने अभियान चलाउनु भनेको पीडितमाथि लात हान्ने काम हो ।’ उहाँले थप्नुभयो– ‘देशका प्रमुख समस्याहरू बेरोजगारी, भ्रष्टाचार, महँगी, सुशासनजस्ता विषयलाई छायामा पारेर एउटा व्यक्तिको मुद्दालाई शीर्ष एजेन्डा बनाउनु रणनीतिक भुल हो ।

पार्टी स्रोतका अनुसार १० दिनभित्र झण्डै २ लाख ५० हजार हस्ताक्षर संकलन भइसकेको छ । काठमाडौँ, पोखरा, धरान, नेपालगञ्ज, बुटवल, धनगढीलगायतका सहरमा हस्ताक्षर अभियान चलिरहेको छ । कार्यकर्ताले सामाजिक सञ्जालमा अभियानलाई ‘महान् क्रान्ति’ भन्दै प्रचार गरिरहेका छन ।

तर, यो अभियानसँगै रास्वपाभित्र गहिरो द्वन्द्व पनि देखिन थालेको छ । केही असन्तुष्ट नेता तथा बुद्धिजीवीहरूले पार्टीको नीति–दिशा ‘नेतामुखी’ बन्दै गएको भन्दै गुनासो गर्न थालेका छन् । सार्वजनिक रूपमा रास्वपाले ‘न्यायका लागि हस्ताक्षर’ भने पनि, धेरैको नजरमा यो व्यक्ति निष्ठ बचाउ अभियानमात्रै हो । राजनीतिक विश्लेषकहरू यसलाई ‘नयाँ पुस्ताको राजनीतिक अपरिपक्वता’ लिएका छन् ।

डा.भीष्मराज पाण्डे भन्नुहुन्छ– ‘मिसन चौरासीको सपना देखिरहेका रास्वपाले त्यही चौरासीलाई कूटनीतिक बुढ्यौली राजनीतिमा परिणत गर्ने संकेत दिन थालेको छ ।’ रास्वपाको लोकप्रियता मूलतः प्रणाली, भ्रष्टाचार र ढिलासुस्तीको विपक्षमा उभिएको छ । तर, अहिलेको अभियानले भने सोही सिद्धान्तमा प्रश्न उठाएको छ । देश आर्थिक, सामाजिक, प्रशासनिक संकटको चपेटामा परिरहेको बेला रास्वपाको ऊर्जा एक व्यक्तिको रिहाइमा केन्द्रित हुनु आफैंमा खतरनाक संकेत हो ।
यस अभियानले रविको रिहाइ त दिलाउला तर जनताको विश्वास भने गुमाउने खतरा थपिएको छ । जुन राजनीतिमा कहिल्यै फिर्ता आउन सक्दैन ।