प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला जाँदै

२६ वर्षपछि हुम्ला सडक सञ्जालमा जोडिँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न उनी हुम्ला जान लागेका हुन् ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ । पुल उद्घाटनपछि हुम्ला सदरमुकाम सिमिकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

यो पुलसँगै २६ वर्षदेखि सडकको प्रतीक्षामा रहेको हुम्ला जिल्लाले राष्ट्रिय सडक सञ्जालमा प्रवेश पाउने छ । उद्घाटनका लागि निर्माण कार्य तीव्र रूपमा सम्पन्न गरिएको हो ।