देशमा खतरा छैन, तर सबै ठिक पनि छैन : महामन्त्री गगन थापा


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही सकारात्मक परिवर्तन भए पनि अपेक्षा अनुसार सुधार गर्न नसकिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशप्रतिको अन्ध समर्थन वा निराशावादी दृष्टिकोण दुबैप्रति शंका गर्न विद्यार्थीहरूलाई सुझाव दिए।

थापाले देशमा खतरा आयो वा देश बर्बाद भयो भन्ने दाबीहरूलाई पत्याउन आग्रह गर्दै भने, “कसैले यो देशमा खतरा भएको छ भनेर नपत्याउनुस्। तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस्। दुवै कुरामा सत्य छैन।”

उनले अहिलेको पुस्ताले अध्ययन, विश्लेषण र समीक्षा गरी समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिए। राम्रो कामका लागि धन्यवाद दिनुस्, अपुगका लागि प्रश्न गर्नुस्, उनले भने।

विद्यार्थीहरूलाई आत्मविश्वासका साथ जिम्मेवारी लिने समय आएको उल्लेख गर्दै थापाले अगाडि भने, “नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्। अडिएर बस्नुस्, नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस्, आलोचनात्मक हुनुस् र रमाइलो पनि गर्नुस्।”

महामन्त्री थापाले आफूभन्दा अबको पुस्ताले अझ राम्रो काम गर्ने विश्वास रहेको पनि बताए।