गरिमा विकास बैंकले राष्ट्रिय भुक्तानी स्विच र नेपाल पे कार्डमा प्रिन्सिपल सदस्यता प्राप्त गर्दै


काठमाडौं
गरिमा विकास बैंक लिमिटेडले नेपालको आफ्नै भुक्तानी पूर्वाधार प्रणाली नेसनल पेमेन्ट स्विच–नेसनल कार्ड स्विच (एनपिएस–एनसिएस) तथा नेपाल पे कार्ड प्रणालीमा प्रिन्सिपल सदस्यता प्राप्त गरेको छ । यस सम्बन्धमा गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।

नेपाल क्लियरिङ हाउसले हालै आफ्ना पूर्वाधार तयार भइसकेको जानकारी गराउँदै बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय भुक्तानी प्रणालीमा आबद्ध भई नेपाल पे कार्ड वितरण र कारोबार सुविधा प्रदान गर्न अनुरोध गरेको थियो । यसै सन्दर्भमा गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूलाई नेपालमै बनेको तथा सञ्चालित कार्ड प्रयोग गरी कारोबार गर्न सक्ने व्यवस्था मिलाएको हो ।

एनपिएस–एनसिएस प्रणालीलाई विभिन्न कार्ड सञ्जालहरूसँग आपसी अन्तरसम्बन्ध कायम गर्दै देशभित्र हुने सबै कार्ड कारोबारको अभिलेखन, मार्गनिर्देशन तथा अन्तिम मिलान प्रक्रियाको केन्द्रको रूपमा विकास गरिँदैछ । यस प्रणालीको पूर्ण सञ्चालन पश्चात कारोबार खर्च घट्ने, विवरणहरू स्वदेशमै सुरक्षित रहने तथा डिजिटल प्रणालीमा आधुनिक प्रविधिको विकास र विस्तार हुने अपेक्षा गरिएको छ ।

नेपाल क्लियरिङ हाउसले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायक संस्था तथा सयौँ गैर–बैंकिङ सदस्यहरूमार्फत राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ। एनपिएस–एनसिएस प्रणाली तथा नेपाल पे कार्डको सफल कार्यान्वयनले मुलुकको भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ।

गरिमा विकास बैंक लिमिटेड नेपालका अग्रणी विकास बैंकहरूमध्ये एक हो, जसले देशभर रहेका १२५ शाखा कार्यालय, १ सेवा विस्तार काउण्टर तथा ५१ नगद झिक्ने यन्त्रमार्फत आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

यस सदस्यतासँगै गरिमा विकास बैंकले डिजिटल कारोबारको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ ।