विनयी पुल सञ्चालनमा, आवतजावतमा सहजता


नवलपरासी। 

पूर्वपश्चिम मुख्य राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा अवस्थित विनयी खोलाको पुल सञ्चालनमा आएको छ ।

बुटवल नारायणगढ फाेरलेन सडक बिस्तार आयाेजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहीबार अपराह्नबाट विनयी खोलाको नयाँ पुल सञ्चालनमा आएको हो ।

करिब ४ हप्ता अघि ढलान गरिएकाे २ सय ४५ मिटर फामाे उक्त पुल छिटाे सञ्चालनमा ल्याउन चौतर्फी दबाब परेकाे थियाे ।

गत पाैष २६ गते अधिक भार सहितकाे ट्रकले विनयीकाे करिब ५५ वर्ष पुरानाे फलामे ट्र्ष्ट ब्रिज  भाँचेपछि डाइभर्सन हालेर पूर्व पश्चिमको यातायात सञ्चालनमा रहेको थियाे ।

वर्षा लागेसंगै खाेलामा आएको बाढीले ९ पटक सम्म डाइभर्सन बगाएको थियाे भने भे १ ख  ४०८५ नम्बरको रात्रीबसलाई समेत विनयी खोलाको भेलले बगाएको थियाे ।

पुल सञ्चालनमा आएसंगै सबै प्रकारका सवारीहरू सहज ढंगले आरपार भईरहेको एक स्थानीयले बताए । याेसंगै यात्रु तथा सवारी चालकलाई खोलाको बाढीमा डाईभर्सनबाट खतरा माेलेर हिड्नु पर्ने तथा बैकल्पिक घुमाउराे बाटाेकाे प्रयाेगकाे बाध्यता हटेको छ ।

यस राजमार्गमा अरूणखाेला,गिरबारी खाेला र जयश्री खाेलामा पुल निर्माणकाे काम जारि रहेको र बेल्लिहा खाेलकाे पुल करिब २० दिन भित्रै सञ्चालनमा आउने बताइएको छ ।

दाउन्ने पहाड खण्डमा भने सहज यातायातका लागि सडक मर्मतको काम भईरहकाे इन्जिनियर खनालले बताए ।