बाँझो जमिनमा घर्तीमगरको सफलता

846
Shares

वर्षौंसम्म उपयोगविहीन बनेको गुल्मीको एक बाँझो जमिन अहिले हरियाली तरकारी फार्ममा परिणत भएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–३ स्थित गुठ क्षेत्रमा कृषक भवीन्द्र घर्तीमगरले चमत्कारीरूपमा बाँझिएको जमिनमा समृद्धिको खेती शुरु गरेका छन् ।

धुर्कोट गाउँपालिका–३ निवासी घर्तीमगर विगत केही वर्षदेखि गुठको जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । उनले गोलभेंडा, काँक्रो, बोडी, फूलकोपी, बन्दा, धान, मकै, माछालगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आयआर्जनमा उल्लेखनीय प्रगति गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कार्यान्वयन इकाइ, गुल्मीको सहयोगमा उनको कृषि यात्रामा ठूलो सहजता आएको छ । परियोजनाले तीन वर्षदेखि चक्लाबन्दी खेती कार्यक्रमअन्तर्गत मल, बीउ, सिचाइ उपकरण, तालिम र प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी विष्णु पोखरेलले बताए ।

यस सघन सहयोगपछि घर्तीमगरले करिब २५ वटाभन्दा बढी टनेलमा तथा खुल्ला खेतमा तरकारी खेतीको विस्तार गरेका छन् । सँगसँगै उनले माछापालन पनि शुरु गरेका छन् । यसले गर्दा समग्र खेती प्रणालीलाई अझै समृद्ध बनाएको छ । २०७९ सालमा दर्ता गरिएको रेसुङ्गा एग्रो बिजनेस कन्सर्न नामक व्यवसायमार्फत उनले तम्घासमा तरकारी संकलन केन्द्रसमेत स्थापना गर्ने गरेका छन् । यसले उत्पादनसँगै बजारीकरण प्रक्रियालाई सहज बनाएको छ । स्थानीय बजारमा ताजा तरकारीको पहुँच बढाउनुका साथै अन्य कृषकलाई पनि व्यापारिक सोच विकास गर्न प्रेरणा मिलेको छ ।

कृषक घर्तीमगरको कठिन परिश्रम र परियोजनाको सहयोगले बाँझो जमिनलाई उत्पादनशील बनाएको छ । यसबाट स्थानीय स्तरमै रोजगारी, आम्दानी र आत्मनिर्भरता बढ्ने संकेत देखिएको छ । कृषक दैनिकरुपमा चारजनाले रोजगारी पाइरहेका कृषक घर्तीमगरले बताए ।