सुल्झिएन बजेट विवाद : सदन सरेको सर्‍यै, सांसद हेरेको हेर्‍यै

1.69k
Shares


सत्तामा रहेकै पार्टीका सांसदहरुको चित्त बुझाउन नसक्दा देखिएको बजेटमाथिको विवादका कारण हेटौंडामा बागमती प्रदेशसभा बैठक लगातार सरेको स¥यै छ । सामान्य सांसदहरु भने हेरेको हे¥यै भएका छन् । सत्तारुढ दलहरु नै सदन सुचारु गर्न सकारात्मक नदेखिएपछि १९ गते बिहीबार बिहान ११ बजे बस्ने गरी प्रदेशसभा बैठक स्थगित गरिएको हो । जबकि, असार १ गते प्रस्तुत बजेटमाथिको छलफल नै शुरु हुन सकेको छैन ।

प्रदेश सरकारको नेतृत्व गरिरहेका कांग्रेस र एमालेबीच सहमति नै नजुट्दा सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । कांग्रेस सांसदका अनुसार अधिकांश सांसदहरु अर्थमन्त्री कुन्दनराज काफ्लेप्रति खनिएका थिए ।
यता एमालेले पनि संसदीय दलको बैठक बसेर स्पष्ट धारणा तय गर्न नसकेको अवस्था छ । सत्तामा रहेका दुई राजनीतिक दलभित्र मन्त्री र सांसदहरुबीच असन्तुष्टि बढ्दा बजेटमाथिको छलफल अन्यौल बनेको छ । प्रदेशको नेतृत्व नेपाली कांग्रेसका बहादुरसिंह लामाले सम्हालिरहेका बेला बजेट ल्याउने अर्थ मन्त्रालयको जिम्मेवारीमा पनि कांग्रेसकै मन्त्री काफ्ले छन् । तर, बजेटका विषयमा विवाद सिर्जना भएपछि कांग्रेसभित्र मन्त्री र सांसद्हरु दुई धारमा विभाजन भएका छन् ।

काफ्ले र मुख्यमन्त्री लामाको भूमिका कमजोर भएको आरोप सांसदहरुको छ । बजेट कस्तो बनाउने, कुन–कुन योजनालाई प्राथमिकता दिने, अर्थमन्त्रीको अधिकार कहाँसम्मको हो भन्ने विषयमा मुख्यमन्त्री लामा कडारुपमा प्रस्तुत नहुँदा अर्थमन्त्री काफ्लेले मनलाग्दी ढंगबाट बजेट ल्याएको कांग्रेसका सांसद बताउँछन् ।

प्रदेशको बजेटमाथि छलफल प्रारम्भ हुन नसक्नुमा सत्तारुढ दल नेकपा एमालेका सांसदबीच पनि उत्तिकै विवाद कारक छ । बजेट निर्माणका बेला कांग्रेसले एमालेसँग छलफल नगरेको एमालेका मन्त्रीहरु बताउँछन् । अर्थ मन्त्रालयको गेटमा ताला लगाएर बजेट इन्ट्री गर्दा कतिपय महत्वपूर्ण योजना छुट्न गएको बताइएको हो । मन्त्रीहरुलाई समेत सिलिङ बजेट हाल्न नदिई सीधै अर्थमन्त्रीले आफ्नो मनलाग्दी बजेट इन्ट्री गरेकोमा आफूहरुसमेत असन्तुष्ट रहेको एक मन्त्रीले बताउनुभयो ।
वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाको कामकारबाहीप्रति अधिकांश सांसद असन्तुष्ट देखिएपछि एमाले बागमती

संसदीय दलको नेता परिवर्तनका विषयमा चर्चा भइरहेको एक सांसदले बताए ।कांग्रेसभित्र पनि सरकारको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने चर्चा तीव्र हुँदै गएको छ । अबको विकल्पबारे प्रश्न उठिरहेका बेला बागमती कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम प्रमुख दाबेदारका रुपमा अगाडि आएको छ । ‘प्रशासनिक नियन्त्रण, राजनीतिक समन्वय र नेतृत्व क्षमता तीनै पक्षमा लामा पूर्ण असफल देखिएका छन्,’ एक सांसदको तर्क छ ।

विवाद मिलाउन संसदीय दलको बैठकमा केन्द्रित भएको र बजेटबारे विवाद हल गर्न एमालेले कस्तो धारणा तय गर्नेछ भन्ने विषयमा दलको बैठकमा छलफल गरिने एमाले बागमती संसदीय दलका सचेतक मधुसूदन पौडेल बताउनुहुन्छ ।
बिहीबारसम्मका लागि बैठक स्थगित गरिएपछि आक्रोशित विपक्षी दलहरुले पत्रकार सम्मेलन गर्दै प्रदेशसभालाई बन्धक बनाएर बजेटबाट भाग्नुभन्दा दलहरुसँग संवाद गरी निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

दलहरुबीच आपसी समझदारी, परामर्श र जानकारीविना एकलौटी ढंगबाट बैठक सार्ने काम भइरहेको भन्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले उक्त कार्यप्रति प्रतिपक्ष दलहरुको गम्भीर आपत्ति रहेको बताउनुभयो । बजेटमा रहेका नीतिगत त्रुटि, असन्तुलित, विभेदकारी र सेटिङमा आधारित बजेट सच्याएर मात्र यस समस्याको हल गर्न सकिने भन्दै उहाँले प्रदेशसभालाई बन्धक बनाएर बजेटमाथिको छलफलबाट भाग्नुभन्दा संवाद गरी निकास निकाल्न सरकारसमक्ष प्रतिपक्ष दलहरुले माग गरेको बताउनुभयो । माओवादीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रदेशसभाका ७ राजनीतिक दलमध्ये राप्रपा, नेकपा (एस) र माओवादी केन्द्रसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा) विपक्षी दलको भूमिकामा छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ५७ करोड ४१ लाखको बजेट सदनमा प्रस्तुत गरेको थियो ।