वि.सं. २०८१ को चैत महिनामा सञ्चालित कक्षा १० को अन्तिम परीक्षा (एसईई ) को गतसाता प्रकाशित नतिजाले निकै उत्साहित बनाएको छ र शैक्षिक क्षेत्रमा एउटा आशा जगाएको पनि छ । गतवर्षको उक्त परीक्षामा ४७.८७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली उक्त परीक्षाफलप्रति असन्तुुष्ट मात्र थिएनन्, बेलाबेलामा शिक्षकलाई यो उत्तीर्ण दर निकै कम भयो, बढाउने उपाय गर्नुस् भनेर प्रेरित गर्थे । प्रधानमन्त्रीले यति नै विद्यार्थी उत्तीर्ण गराउने हो भने तनखा बढाउने माग किन गर्ने भनेर झस्काइदिन्थे । यो वर्ष अर्थात् २०८१ सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विगतको भन्दा यो प्रतिशत १३.९४ प्रतिशतले बढी हो । विगतको तुलनामा यो वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि बढेको छ । गतवर्ष १ सय ८६ जनाको मात्रै ४ जीपी थियो भने यो वर्ष ९ सय ७१ जनाले उक्त जीपीए ल्याएका छन् ।
यो उपलब्धि यद्यपि पूर्ण होइन तर सकारात्मक भने हो । शैक्षिक सुधारको एउटा सूचांक पनि हो । किनकि यो अवस्थाले हाम्रो शैक्षिक उपलब्धिमा सुधार आएको संकेत गर्छ । तर एकै वर्षका बीचमा यतिको संख्यामा उत्तीर्ण हुने दर बढाउनका लागि शैक्षिक प्रणालीमा के–के सुधार गरियो त ? यसको खोजिनीति भने हुनै पर्छ ।
यसपटक आकस्मिकरुपमा नतिजामा बढोत्तरी आएपछि प्रधानमन्त्रीले ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ’ भन्दै खुशी बाँडेका छन् । तर उनले यसबीचमा नतिजा सुधारका लागि के–के मेहनत गरे ? त्यो भने खुलाएका छैनन् । यसअघि नै उनले एक सार्वजनिक कार्यक्रममा यो वर्ष ७० प्रतिशत हाराहारी विद्यार्थी पास हुने अनुमानसमेत गरेका थिए । वर्षदिनमै नतिजामा उल्लेखनीय प्रगति देखिएपछि शिक्षाविद्हरुले सिकाइमा सुधार गरिएको हो कि परीक्षा प्रणाली कतै गडबड भयोे भन्ने प्रश्न पनि उठाएका छन् ।
नतिजाका बारेमा विश्लेषण गर्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले कृपामा अंक थपियो कि विद्यार्थीकै क्षमता बढाएर पास गराइयो ? भन्ने प्रश्न गरेका छन् । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले कोइरालाको उक्त भनाइलाई खण्डन गर्दै सिकाइमा नै सुधार आएको दाबी गरेका छन् । कृपामा अंक दिएर सुधार भएको भए बाँकी ३८ प्रतिशत किन सफल भएनन् त ? के उनीहरुप्रति शिक्षकको दुश्मनी थियो ? भन्दै प्रतिप्रश्न गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको दाबी पनि प्रधानमन्त्रीसँग मिल्दोजुल्दो छ । उनले स्थानीय तहमा शिक्षाको अधिकार पुगेपछि शिक्षण सिकाइमा सुधार भएकाले नतिजा सुधारोन्मुख देखिएको हो भनेका छन् ।
उच्च प्राथमिकतामा शिक्षा
सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । विद्यालयमा भौतिक सुविधा, खानेपानी व्यवस्थापन, छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था, महिला शिक्षकको अनिवार्य व्यवस्था, छात्राका लागि निःशुल्क स्यानेटरी प्याडको उपलब्धतालगायतका धेरै सुविधा प्रदान गरिएको छ । यसबाट विद्यालय शिक्षामा सबैको पहुँच, नियमितता र शैक्षिक उपलब्धि वृद्धिका लागि सघाउ पुगेको छ ।
आधारभूत तहको १–५ कक्षामा नियमित मूल्यांकन पद्धतिको व्यवस्था, कक्षा १० का लागि सबै विषयमा प्रयोगात्मक अंकभारको व्यवस्था, अक्षरांकन मूल्यांकन पद्धति अवलम्बन आदिको प्रबन्ध अनुत्तीर्ण दर कम गर्नैका लागि गरिएको थियो । यसो त विषयगत शिक्षकको व्यवस्था, शतप्रतिशत शिक्षकहरू तालिम प्राप्त, सबै शिक्षकसँग अध्यापन अनुमतिपत्रको अनिवार्यताले पनि शिक्षण सिकाइ प्रभावकारी र गुणस्तरीय भई राम्रो नतिजाका लागि सघाएको हुनुपर्छ ।
सीप हस्तान्तरण गर्ने समय
अब परीक्षामुखी शैक्षिक नीतिमा परिवर्तन आउन जरुरी छ । शिक्षक पढाउनका लागि नभएर सिकाउनका लागि हुनुपर्छ । यसैले ऊ शिक्षक नबनेर सहजकर्ता बन्नुपर्छ । चीनमा एउटा उखान छ– ‘मलाई एक किलो माछा उपहार होइन, माछा मार्नका लागि सीप देऊ, ताकि म आफैँले मन लागेको बेला माछा मारेर खान सकूँ ।’ तर आजकल हाम्रो पठनपाठनमा सैद्धान्तिक कुरा मात्र छ, सीप छैन । व्यावहारिक पक्ष उपेक्षित नै छ । कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ । के सिक्यो हैन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्नेबाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन । यो आजको विडम्बना नै हो । कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन । गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन ।
तसर्थ शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ हुनुु पनि हो । सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो । यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ । शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुुग्दैन, कुनै पनि काम गर्न सक्ने सीप अर्थात् खुबी प्रदान गर्न सक्नुपर्छ । हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ । तर गुणस्तरको पाटो कमजोर छ । पढेर देश नै छोडनुपर्ने शिक्षाको कुनै दरकार हुँदैन । शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ । बजारमा बिकाउन सक्नुुपर्छ । तर जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन । यसकारण पढी खाने शिक्षा दिन नसकेपछि अब गरी खाने शिक्षा दिनुपर्छ । यसका लागि सीपमूलक प्राविधिक शिक्षा नै आजको आवश्यकता हो ।
शिक्षा र व्यवहार
घाम उदाउने दिशालाई पूर्व भनिन्छ भनेर विद्यार्थीलाई जतिसुकै घोकाए पनि खुल्ला ठाउँमा गएर उसलाई चार दिशा छुट्याउन लगाउँदा सही दिशा देखाउन सकेन भने उसले जतिसुकै जीपीए ल्याए पनि उक्त विषयमा व्यावहारिक ज्ञान नभएको नै ठहर्छ । तसर्थ गरेर सिक्ने शिक्षा आज आवश्यक छ ।
अमेरिकी पूर्वीराष्ट्रपति अब्राहम लिंकन आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै भनेका छन्, ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन् । स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् मित्र पनि छन् । उसलाई सित्तैमा पाएको हजारौँ डलरभन्दा परिश्रम गरी कमाएको एक डलर बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् ।’
लिंकन अगाडि लेख्छन्, ‘मेरो छोरो जतातिर हुल छ त्यतातिर लाग्ने प्रवृत्तिको नहोस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाज मर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । सम्झनुहोस्, आगोको लप्काबाट नै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।’
आज हामीलाई चाहिएको अर्को शिक्षा यो पनि हो । मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको उक्त सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ । आजको पठनपाठनले न सीप दिएको छ, न व्यवहार । तसर्थ व्यावहारिक पक्षमा लिंकनको उक्त आकांक्षाले आम नेपाली अभिभावकको प्रतिनिधित्व गर्दछ । हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो ।
विद्यालय रहर बनोस्
कवि हरिभक्त कटुवाल रहर कवितामा भन्छन्, ‘बा, पाठशाला जान्न म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको ।’ आज हरेक बालबच्चाहरु विद्यालयलाई सिक्ने पाठशाला नठानेर डर र त्रासको घर ठान्छन् । विद्यालय त जाऊँ–जाऊँ लाग्ने खालको हुनुपर्छ । आज पनि हाम्रो शिक्षा पद्धति घोकन्ते छ, सैद्धान्तिक छ । हाम्रा बालबालिकाको चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामीप्यता छँदै छैन । बालमैत्री भनिन्छ तर पूर्णरुपमा लागू गरिएको छैन ।
जंगबहादुर मरेको इतिहास घोकेर आजका विद्यार्थीले के पाउने ? बरु आजका विद्यार्थीले घोकेरभन्दा गुुुुगलमा सर्च गरेर यी कुरा पत्ता लगाउन चाहन्छन् । आज उनीहरुलाई गुुुुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ । आजका बच्चाहरुलाई तयारी हालतको भन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ । कति पढ्ने भन्दा पनि के पढ्ने भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो । यसका लागि विद्यार्थीलाई विद्यालय जाऊँ–जाऊँ लाग्नुपर्छ । करले होइन, रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ र यसका लागि उसको रुचि, इच्छा र चाहनाअनुसारको विषय पढ्न पाउनुपर्छ । स्वस्र्फुत सिकाइ वातावरण हुनुपर्छ ।
रोजगारी छैन
प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो । आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दै गर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुुगेको सरकारको दाबी छ । यो सन्तोषको विषय हो । तर पढेका जनशक्तिमध्ये कतिजना रोजगारीमा लागे भन्ने कुरा पनि महत्वपूर्ण हो । बजारमा बिकाउ नहुने र ज्ञानमा टिकाउ नहुने शिक्षा प्रदान गरेर बर्सेनि बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो । यसै कारण व्यावसयिक शिक्षा आजको मुख्य आवश्यकता थियो ।
तर हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्क्रमबाट हटायौं । भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौँ । विगतमा कक्षा ८ बाट ऐच्छिक विषयका रुपमा बागबानी लिन सकिन्थ्यो । त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौँ । जसले गर्दा गरी खाने शिक्षाको अभावमा प्रमाणपत्रहरु खोटोमर हुन थाले । दराजभरि प्रमाणपत्रहरु थन्किएका छन् तर ती प्रमाणपत्रहरुको बजार भाउ शून्य छ । आजको मूल समस्या नै यही हो । यसकारण स्वरोजगारमूलक शिक्षा आजको आवश्यकता हो ।











प्रतिक्रिया