मुख्य सचिव सरकारी कार्यालयको छड्केमा

सेवाग्राहीको भीड लाग्ने तीन विभागमा अनुगमन


सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

काठमाडौं

मुख्य सचिव एकनारायण अर्यालले संघीय राजधानी काठमाडौंमा रहेका र सेवाग्राहीको बढी भीड लाग्ने तीनवटा विभागमा आकस्मिक छड्के निरीक्षण गर्नुभएको छ ।मुख्य सचिव अर्यालले मंगलवार बिहान आकस्मिक रूपमा वैदेशिक रोजगार विभाग, राहदानी विभाग र उद्योग विभागको सेवा प्रवाह र सुशासनका अवस्था आदि विषयमा छड्के अनुगमन निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मुख्य सचिव अर्यालले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी विभागबाट दिइएको सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । त्यसक्रममा मुख्य सचिवकै अगाडि केही सेवाग्राहीको काम तत्काल सम्पादन पनि भएको थियो । अनुगमनको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्दबहादुर कार्कीको सहभागिता रहेको थियो ।

मुख्य सचिव अर्यालले वैदेशिक रोजगार विभागमा अनुगमन गर्दै विभागका महानिर्देशकलगायतका अधिकारीलाई श्रम अनुमति दिँदा देखिएका समस्याहरूको शीघ्र समाधान गर्न वैदेशिक रोजगार सूचना प्रणालीलाई सेवाग्राहीमैत्री हुने गरी परिमार्जन गरी अन्य प्रणालीसँग आवद्ध गर्दै व्ययवस्थित गर्न, वैदेशिक रोजगारीको क्रममा जोखिममा परेका र ठगिएका नागरिकहरूको तत्काल राहत तथा उद्दारको काम अगाडि बढाउन एवं वैदेशिक उद्धारबाट ठगिएका व्यक्तिहरूको रकम उपलब्ध गराउने सम्बन्धमा वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग समन्वय गरी कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो ।

उहाँले राहदानी विभागका महानिर्देशकलगायतका अधिकारीलाई राहदानी वितरणको प्रक्रियालाई छिटो, छरितो र नागरिकले सहजै पाउने गरी सुधारको आवश्यक प्रबन्ध गर्न, वैदेशिक रोजगार प्रणाली र अध्यागमन प्रणालीबीच राहदानीको तथ्याङ्क विवरण र प्रणालीबीच आवद्ध गर्ने गरी तुरुन्त काम अघि बढाउन पनि निर्देशन दिनुभयो ।

यसै गरी मुख्य सचिव अर्यालले अनुगमनका क्रममा राहदानी विभागका महानिर्देशकलाई निजी क्षेत्रलाई सहज सेवा उपलब्ध गराउने गरी सबै सेवाहरू प्रविधिमा लैजान, उद्योग वाणिज्य र कम्पनी प्रशासनलाई एकीकृत र प्रविधिमैत्री बनाई चुस्त दुरुस्त सेवा प्रवाहको व्यवस्था मिलाउन, औद्योगिक सम्पत्ति व्यवस्थापनसम्बन्धी कामलाई पारदर्शी बनाउन र एकल बिन्दु सेवा केन्द्रको लक्ष्यअनुरूप उद्योगी र लगानीकर्ताले सबै सेवाहरू सहजै प्राप्त गर्ने सक्ने गरी कार्य सञ्चालनमा रूपान्तरण गर्न, लगानीकर्ता र निजी क्षेत्रले भोगेका कठिनाइहरू तुरुन्त निवारण गर्ने गरी कार्य थाल्न निर्देशन दिनुभयो ।