काठमाडौं ।
सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएका तीन जनाको संसदीय सुनुवाइ आइतबार भए पनि उनीहरूको बारेमा निर्णय हुन सकेको छैन ।संसदीय सुनुवाइ समितिले न्यायाधीशमा सिफारिस भएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापासँग सुनुवाइ गरेको थियो । उनीहरूविरुद्ध समितिमा ७ वटा उजुरी परेका थिए । जसमा अधिवक्ता मेघराज पोखरेलविरूद्ध २ वटा, श्रीकान्त पौडेलविरुद्ध २ वटा र शान्ति सिंहविरूद्ध एउटा उजुरी परेका थिए ।
संसदीय सुनुवाइका क्रममा सांसदहरूले न्यायाधीशमा सिफारिस भएका मेघराज पोखरेलाई निर्णय गरिएमा स्वार्थ बाझिने भन्दै उहाँलाई आफैँ प्रक्रियाबाट बाहिरिन सुझाएका थिए । पोखरेल आफैँ सर्वोच्च बार एसोसियनको अध्यक्ष भएको र उहाँ हाल पनि एक बैंकको निर्देशक भएको भन्दै सांसदहरूले त्यस्तो व्यक्ति न्यायाधीशमा आउँदा स्वार्थ बाझिन सक्ने भन्दै आफैँ ब्याक हुनुपर्नेमा जोड दिएका थिए । एमालेका सांसद महेश बर्तौला तथा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलगायतले न्यायाधीश पोखरेलले आफैँ ब्याक भएर नैतिकता प्रदर्शन गर्नुपर्ने बताएका थिए । अहिले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था गरिएको सन्दर्भ उल्लेख गर्दै सांसदहरूले कुनै लाभको पदमा बसिरहेको व्यक्ति सीधै न्यायाधीशमा आउन नहुने तर्क गरेका थिए ।











प्रतिक्रिया