सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सव सम्पन्न


काठमाडौँ। 

सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमकासाथ सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न ठाउँमा गरेका हरेक गतिविधि प्रशंसायोग्य रहेको बताउदै पुरस्कृत हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिइन् ।

उनले महिला संघको विविध गतिविधिमा सहयोग पु¥याउनुहुने सम्पूर्ण महानुभाव तथा विभिन्न संघसंस्था प्रति हार्दिक आभार प्रकट गर्नहुँदै कुनै पनि सामाजिक कार्य एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने हुँदा यस्ता कार्यमा सबैको साथ र सहयोग उत्तिकै रहनुपर्ने विश्वास व्यक्त गरिन् ।

सचिव अर्यालले स्थापनाको छोटो समयमा समेत सशस्त्र प्रहरी बल नेपालले गरेका हरेक क्रियाकलापहरु प्रशंसनीय रहेको तथा महिला संघले गरेका हरेक सामाजिक कार्यहरुमा आफूलगायत मन्त्रालयको साथ र सहयोग सदैव रहिरहने बताइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले धन्यवाद ज्ञापनको क्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालबाट वार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना मन्तव्यले संघका सबै पदाधिकारीहरुलाई थप हौसला र उर्जा उत्पन्न भएको बताइन् ।
उनले सशस्त्र प्रहरी परिवार महिला संघले गर्दै आईरहेका सामाजिक कार्यहरुलाई निरन्तर दिने उल्लेख गर्दै यस्ता कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसस्था तथा परोपकारी व्यक्तिहरुबाट समन्वय र सहकार्य सदैव रहिरहने विश्वास व्यक्त गरिन् ।

सोही अवसरमा प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, विशेष अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायतले विभिन्न संघसस्था तथा महानुभावहरुलाई कदरपदत्र तथा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले स्वागत मन्तव्य राखेकी थिइन् भने संघकी सदस्य सचिव श्रीमती रेजिना श्रेष्ठले सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक गतिविधि प्रस्तुत गरेकी थिइन् ।

गोताखोर सशस्त्र प्रहरी जवान स्व. हरदेव राजबंशीको छोरीलाई छात्रबृत्ति प्रदान

सशस्त्र प्रहरी परिवार महिला संघले वर्षिकोत्वको अवसर पारेर कर्तव्य पालनको सिलसिलमा गत जेठ २२ गते सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा दिवंगत भएका स्व.सशस्त्र प्रहरी जवान हरदेव राजबंशीको छोरीलाई छात्रबृत्ति स्वरुप १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

कार्यक्रममा निजामती कर्मचारी संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, नेपाल प्रहरी संघकी अध्यक्ष, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखका धर्मपत्नी, सशस्त्र प्रहरी परिवार महिला संघका पूर्व अध्यक्षहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नागर्जुन नगरपालिकाका उपप्रमुख लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, विभिन्न संघसंस्थाका महानुभावहरु तथा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।