थाइल्याण्डका प्रधानमन्त्री शिनावात्रा निलम्बित


काठमाडौं।

थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले अस्थायी रूपमा निलम्बन गरेको छ। कम्बोडियाका पूर्व नेता हुन सेनसँगको गोप्य टेलिफोन वार्ता चुहावट भएपछि शिनावात्रामाथि राजीनाको दबाब बढेको थियो।

टेलिफोन वार्तामा शिनावात्राले थाई सैन्य कमाण्डरको आलोचना गर्दै हुन सेनलाई “काका” सम्बोधन गरेका थिए। वार्ता बाहिरिएपछि शिनावात्राविरुद्ध आक्रोश फैलिएको थियो, जसको आधारमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो। अदालतले मुद्दा विचाराधीन राख्दै उनलाई पदबाट निलम्बन गर्ने आदेश दिएको छ।

यसबीच, दुई हप्ता अघि शिनावात्राका नजिकका सहयोगीहरूले पनि आफ्नो समर्थन फिर्ता लिएपछि सत्तारुढ गठबन्धन अल्पमतमा परिसकेको छ। राजनीतिक अनिश्चितता गहिरिँदै जाँदा, थाइल्याण्डको सत्ता भविष्यको दिशाबारे थप अन्योलता बढेको छ।

अदालतले अन्तिम निर्णय नहुँदासम्म पाटोङटार्न शिनावात्रा निलम्बनमै रहने जनाइएको छ।