पछिल्ला दुई दशकमा नेपालले विद्युत् पहुँच, सडक सञ्जाल, सञ्चार, शिक्षा र स्वास्थ्यमैत्री कार्यक्रमजस्ता सूचकमा उल्लेखनीय प्रगति गरेको छ तर स्वच्छ हावाको मौलिक हक अझै अधुरै छ । राजधानी काठमाडौं उपत्यका धूलोको घुम्टोमा बन्द छ । साथै उर्वर तराई धुवाँको मुस्लोमा हराउँछ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले यी दुवै क्षेत्रलाई ‘वायु प्रदूषणको हटस्पट’ का रुपमा उल्लेख गरेको छ । साथै यसलाई नेपालको दिगो विकास यात्राको सबैभन्दा जटिल र बहुआयामिक चुनौती मानेको छ । वायु प्रदूषण सार्वजनिक स्वास्थ्य, आर्थिक प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय सहयोगको केन्द्रीय एजेन्डा बनेको छ ।
नेपालको अवस्था
नेपालमा वायु प्रदूषणका दुई मुख्य केन्द्रविन्दुमध्ये काठमाडौं उपत्यका र तराई क्षेत्रमा मानव स्वास्थ्यका लागि सबैभन्दा खतरनाक प्रदूषक सूक्ष्म कणहरू रहेको विश्व बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । हावामा रहेका धूलोका साना कण जुन २.५ माइक्रोनभन्दा साना हुन्छन् । यस्ता धूलोका कणहरु श्वास–प्रश्वासका क्रममा नाक वा मुखबाट फोक्सो, रक्तनली हुँदै मुटु, मस्तिष्क र अन्य अंगसम्म पुग्छन् ।
काठमाडौंमा र सीमावर्ती तराई क्षेत्रमा प्रदूषणको स्तर विगत १० वर्षदेखि स्थिर नै रहँदै आएको छ । विश्व स्वास्थ्य संगठनले तय गरेको स्वच्छ हावाको स्तरभन्दा काठमाडौं उपत्यका र तराईमा निकै उच्च प्रदूषणयुक्त रहेको पाइएको छ ।
पछिल्लो अध्ययनअनुसार काठमाडांैको हावामा वार्षिक औसत ५० माइक्रोग्राम प्रतिघनमिटर धूलोका कण भेटिएको छ भने विराटनगर, नेपालगन्ज, जनकपुरजस्ता शहरमा यो संख्या ६० माइक्रोग्राम नाघेको थियो । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २०औं गुणा बढी हो । काठमाडौं उपत्यकामा प्रदूषण शहरको केन्द्र भागमा बढी छ भने शहरको बाहिरी क्षेत्र केही कम प्रदूषित छ । वर्षाको मौसममा केही घटे पनि हिउँदमा फोहोर, धूलो, डढेलो र सीमापार खेती अवशेष जलाउने प्रवृत्तिले प्रदूषणको स्तर ह्वात्तै बढेर खतराको स्तरभन्दा धेरै माथि पुग्छ ।
स्वास्थ्यमा प्रभाव
वायु प्रदूषण नेपालको मृत्युदरमा उच्च जोखिम कारक बनेको छ । विश्व बैंकको प्रतिवेदनका अनुसार, यसले औसत नेपालीको आयु ३.४ वर्षले घटाइरहेको छ । साथै प्रत्येक वर्ष करिब २६ हजार अकाल मृत्यु वायु प्रदूषणसँगको प्रत्यक्ष वा अप्रत्यक्ष कारणद्वारा निम्तिएका छन् । जसमध्ये ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’ (सीओपीडी) (श्वास–प्रश्वाससम्बन्धी दीर्घरोग) को जोखिम ७५ प्रतिशत रहेको छ । स्ट्रोक (पक्षघात) ४६, हृदयघात ४४, फोक्सोको संकक्रमण ४१, क्यान्सर ३८, नवजात शिशुमा समस्या ३० प्रतिशत र मधुमेह २० प्रतिशतको जोखिम वायु प्रदूषणसँग गाँसिएको छ । यो अत्यन्तै चिन्ताको विषय हो । धूलोका स–साना कणहरु फोक्सो र रगत हुँदै मस्तिष्क, मृगौलाजस्ता शरीरका कोमल अंगमा प्रत्यक्ष पुग्छन् । त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पु¥याइरहेको छ । विद्यालय जाने बालबालिका र निर्माण, ढुवानी, सवारी क्षेत्रका श्रमिकहरु उच्च जोखिममा परेका छन् ।
आर्थिक क्षति
विश्व बैंकको प्रतिवेदनमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा ६ प्रतिशत अर्थात् करिब ४ खर्ब रुपियाँ बराबरको आर्थिक क्षति प्रत्यक्ष–अप्रत्यक्ष वायु प्रदूषणका कारण भएको अनुमान गरिएको छ । असरका मुख्य चक्रहरूमा श्रमिकको स्वास्थ्य बिग्रँदा कार्य–घण्टा घट्ने, कक्षामा विद्यार्थीको अनुपस्थिति बढ्ने, भिजिबिलिटी कमजोर हुँदा हवाई उडान बन्द भई पर्यटन व्यवसाय प्रभावित हुने र राजस्वमा ह्रास, स्वास्थ्यमा अतिरक्ति खर्चको भार, अन्तर्राष्ट्रिय बजारमा ‘प्रदूषित शहर’ को छवि बनेर लगानी आकर्षणमा अवरोधजस्ता क्षति नेपालले बेर्होदै आएको छ । तथ्यांकमा श्रमिक अनुपस्थिति ८ प्रतिशतभन्दा बढी र पर्यटकको औसत बसाइ १ दशमलव २ दिनले घटेको छ ।
पोखरा, नेपालगन्ज र भैरहवामा वर्षको ३ सयभन्दा बढी घण्टा उडान रद्द तथा ढिलाइ भएको पाइन्छ भने शहरी मध्यमवर्गीय परिवारको वार्षिक औषधि तथा जाँच खर्चमा १२ प्रतिशतले वृद्धि भएको पाइएको छ । यस्तो विकराल अवस्थामा सन् २०३५ सम्म वायु प्रदूषण नियन्त्रण गर्न नेपालले आवश्यक पहलकदमी गरेन भने ठूलो क्षति हुने विश्व बैंकको अनुमान छ । समयमै नीति हस्तक्षेप नगरेमा १०औं हजार नेपालीले अकाल मृत्युवरण गर्नुपर्ने, नेपालको श्रम र उत्पादकत्व क्षमतामा उच्चतम ह्रास आउनेलगायत नेपालको पर्यटन उद्योग प्रभावित भई नेपाललाई अर्बाैं रुपियाँको क्षति हुने अध्ययनबाट देखिएको छ ।
वायु प्रदूषणका प्रमुख स्रोत
काठमाडौं उपत्यकामा इँटाभट्टा, खाद्य–प्रक्रिया, लामो समयसम्म निर्माण सम्पन्न नहुने सडक, पुराना डिजेलबाट चल्ने बस, ट्रक, मोटरसाइकल, जंगल डढेलो, उद्योगहरुको कोइला–ब्वायलर, चुल्होमा पनि कोइलाकोे प्रयोग र सीमापारबाट उडेर आउने धूलो–धुवाँ प्रदुषणको प्रमुख स्रोत मानिएको छ । त्यस्तै तराई क्षेत्रमा ठूला उद्योग, ढुवानी राजमार्गमा सवारी चाप, कृषि अवशेष (पराल जलाउने), डढेलो, घरायसी खाना पकाउने तरिका दाउरा र सबैभन्दा ठूलो हिस्सा सीमापार स्रोत (करिब ६७ प्रतिशत) प्रमुख मानिएको छ ।
भू–बनोट र मौसमी प्रवाह
काठमाडौं उपत्यकाको भू–बनोट कचौराको जस्तो आकारमा रहेको छ, जसका कारण यहाँको भू–सतहदेखि माथि तातो र चिसो हावाको मिश्रण रोकिन्छ । हिउँदमा धूलोका कणहरु हावामा अल्झिएर ‘ट्याम्प्रेचर इन्भर्जन’ हुन्छ । अर्थात् तातो हावाको तह चिसो हावाको तहमाथि बस्छ, जसले तापक्रम उल्टो पार्नाले धूलो र धुवाँलाई उठ्नै नदिई जमिनमै थिच्छ । तातो हावाको यो ‘ढक्कन’ले प्रदूषणलाई जमिनको सतहनजिकै रोक्छ, जसले गर्दा हावाको गुणस्तर खराब हुन्छ । दिउँसोमा उपत्यकाभित्रै हल्का वायु प्रवाहले केही हदसम्म कण विस्थापन गरे पनि साँझ र राति पुनः थिचिएको अवस्था फर्किन्छ । तराईमा दिउँसो पश्चिमी हावा चल्दा केही सफा भए पनि बिहान र साँझ धूलोको चञ्चलता चरम हुन्छ ।
सीमापारिको प्रभाव
नेपालको तराई क्षेत्र भारत, बंगलादेश र पाकिस्तानसम्मको विशाल मैदानी क्षेत्रसँग जोडिएको छ । यो भारतीय उपमाद्वीपअन्तर्गत हिमालयदेखि दक्षिणतर्फको भिरालो मैदानी भाग समेटिने विशाल क्षेत्र हो । यो विश्वव्यापी वायु प्रदूषणमा हटस्पटका रुपमा समेत चिनिन्छ । यसलाई ‘इन्डो–गंगेटिक प्लेन एन्ड हिमालयन फुटहिल्स् रिजन (आईजीपी–एचएफ) का रुपमा पनि चित्रण गर्ने गरिन्छ । यो संसारको सबैभन्दा घना जनसंख्या भएको क्षेत्रमध्येको एक हो, जसको जनसंख्या करोडौं छ । यो क्षेत्र उर्वर भूमि हो र प्रचुर मात्रामा जलस्रोतहरूले भरिएको तथा कृषिमा आधारित जनसंख्या धेरै छ । यद्यपि, यसले वायु र जल प्रदूषणसँग सम्बन्धित चुनौती, पानी व्यवस्थापन र स्रोत बाँडफाँडको समस्याहरूको पनि सामना गर्दै आएको छ । यहाँ खुल्ला एयरसेड अर्थात् सामान्य मौसमी अवस्था र प्रदूषण स्रोतहरूबाट वायुको गुणस्तर प्रभावित हुन्छ, स्थानीय भूगोल र मौसम ढाँचाका कारण प्रदूषण हुन्छ । विश्व बैंकको अध्ययनअनुसार, तराईमा दुई तिहाइ प्रदूषण सीमापारिबाट हुन्छ भने उपत्यकामा एक चौथाइ रहेको छ ।
३५-३५ लक्ष्य र यसको औचित्य
‘इन्डो–गंगेटिक प्लेन एन्ड हिमालयन फुटहिल्स् रिजन (आईजीपी–एचएफ) अन्तर्गतको एपी फोरममा यस क्षेत्रमा वायुको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाइएको छ । साथै यो फोरमले सीमापार वायु प्रदूषण चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रभित्रका देशबीच सहकार्यलाई सहज बनाउने भन्ने पनि तय गरिएको छ । फोरमअन्तर्गत नेपालसहित पाँच देशले सन् २०३५ भित्र वार्षिक औसत २.५ माइक्रोनलाई ३५ माइक्रोग्राम प्रतिक्युबिक मिटरभित्र ल्याउने सामूहिक ‘३५÷३५’ प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । यो विश्व स्वास्थ्य संगठनको लक्ष्यसँग मेल खाने लक्ष्य हो । नेपालले यसलाई आफ्नो १६औँ पञ्चवर्षीय योजनामा समेत प्रतिविम्बित गरेको छ ।
नेपालको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सफा ब्वायलर प्रविधि अपनाउनु एउटा उपाय हुनसक्छ । मोबिल, डिजेल, कोइला, टायरजस्ता वस्तु ब्वायलर प्रयोग गर्दै आएका उद्योगले बिजुली वा ब्रिकेट÷पेलेटजस्ता इन्धनको प्रयोगको प्रयोग गर्न सक्छन् ।
त्यस्तै घरायसी प्रयोगमा विद्युतीय इन्डक्सन चुल्हो वा सुधारिएको चुल्हो प्रयोग गर्ने, विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुका साथै डिजेल गाडीको नियमित परीक्षण र मर्मत अनिवार्य बनाउने उपायहरू सबैभन्दा लागत प्रभावकारी छन् । वायु प्रदूषण न्यूनीकरण गर्न अवलम्बन गरिने उपायमा प्राथमिक लगानी उच्च देखिए पनि ऊर्जा क्षमता ३० प्रतिशतसम्म वृद्धि, कार्बन उत्सर्जन ७० प्रतिशतसम्म कटौती हुने अध्ययनबाट देखिएको छ । तर, तराई क्षेत्रमा यी उपाय मात्रै पर्याप्त हुँदैनन् । यदि छिमेकी मुलुकहरूले पनि प्रदूषण नियन्त्रणका उपायहरू नअपनाएमा लक्ष्य पूरा गर्न असम्भवजस्तै हुन्छ । त्यसैले, क्षेत्रीय समन्वय अपरिहार्य छ ।
त्यसका लागि विज्ञान–नीति–वित्त वार्षिक संवाद सक्रिय रूपमा उपयोग गर्नुपर्छ । प्राविधिक ज्ञान, डाटा–आदानप्रदान, डढेलो व्यवस्थापन आवश्यक रहेको छ । त्यसबाहेक सरकारले वायु प्रदूषण न्यूनीकरणका लागि केही नीतिगत संरचना निर्माण गर्नुपर्छ । जस्तै– वायु गुणस्तर मापनमा सुधारका लागि डाटा प्रणाली सुधार, कार्बन उत्सर्जन मापदण्डको निर्धारण, प्रदूषित वस्तुमा कर र सफा प्रविधिमा छुटको व्यवस्था, नयाँ प्रविधि अपनाउने वातावरण बनाउन निजी क्षेत्रलाई प्रोत्साहन र विद्युत् आपूर्तिको सुनिश्चितताजस्ता आधारभूत कार्य सरकारको दायित्वचित्र रहेको छ ।
अन्तर्राष्ट्रिय अनुभव
चीनले बेइजिङमा सन् २०१३–२०२४ सम्मको अवधिमा वायु प्रदूषण कम गर्न औद्योगिक ऊर्जामा व्यापक सुधार गर्दै कोइला प्रतिबन्ध ग¥यो भने सवारी नवीकरणमा कडाइ ग¥यो । त्यस्तै मेक्सिको सिटीले सन् १९९३–२००३ को अवधिमा स्वच्छ इन्धन रूपान्तरण, सार्वजनिक यातायात सुदृढीकरण मंगोलियाले सन् २०११–१९को अवधिमा कोइलामुक्त स्टोभ, केन्द्रीय हिटर प्रणालीसम्बन्धी उदाहरण अन्तर्राष्ट्रिय मञ्चमा सधैँ प्रस्तुत गर्दै आएको छ ।
निष्कर्ष
हामी प्रायः सोच्छौं कि समस्या आँखाले देखिनुपर्छ । तर वायु प्रदूषण यस्तो संकट हो जुन देखिँदैन, तथापि प्रत्येक मानिस यसबाट प्रभावित भएका छन् । वायु प्रदूषणले अब केवल वातावरणको मात्र नभई जनस्वास्थ्य, रोजगारी, पर्यटन, शिक्षा, कृषि र औद्योगिक भविष्यमा पनि संकटको घण्टी बजाइरहेको छ । वायु प्रदूषण अब हाम्रो अघिल्तिर देखिने मात्र होइन, श्वाससँगै जीवनभित्र पसेको गहिरो संकट हो । तसर्थ, सरकार, नागरिक, उद्योगी र छिमेकी देश सबैसँगको समन्वय अपरिहार्य छ । ‘नीलो आकाश, स्वच्छ श्वास’ अब केवल नारा होइन, नेपालको विकासको मेरुदण्ड हो । त्यसअनुसार अगाडि बढ्नुपर्छ ।











प्रतिक्रिया