अब डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने


काठमाडौं
नेपाली दर्शकका लागि ठूलो खुसीको खबर ! नेपालकै अग्रणी डिजिटल टेलिभिजन सेवा प्रदायक डिशहोमले बहुप्रशंसित भारतीय टेलिभिजन श्रृंखला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने घोषणा गरेको छ । अब दर्शकहरूले यो ऐतिहासिक तथा धार्मिक टेलिश्रृंखला रमाइलो टिभी च्यानलमार्फत आफ्नै मातृभाषामा हेर्न सक्नेछन् ।

डिशहोमको रमाइलो टिभीमार्फत ‘रामायण’ श्रृंखला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ ।

‘रामायण’ मूलतः भारतीय संस्कृत महाकाव्यमा आधारित टेलिभिजन श्रृंखला हो, जसको निर्माण तथा निर्देशन प्रसिद्ध निर्माता–निर्देशक रामानन्द सागरले गरेका थिए । सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलमा पहिलोपटक प्रशारण भएको यो श्रृंखला त्यतिबेला भारतको ८२ प्रतिशत दर्शकले हेरेको ऐतिहासिक रेकर्ड बोकेको छ । बीबीसीका अनुसार, ‘रामायण’लाई विश्वभर ६५ करोडभन्दा बढी दर्शकले हेरेका थिए ।

यस श्रृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलमार्फत भइसकेको छ । कोरोना लकडाउनका बेला सन् २०२० मा पुनः प्रसारण हुँदा यो श्रृंखलाले एकै दिन ७.७ करोड दर्शक संख्या प्राप्त गर्दै विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान कायम गरेको थियो। यस श्रृंखलामा आशोक कुमार र रामानन्द सागरको प्रस्तुति रहेको छ भने संगीत संयोजन सुप्रसिद्ध संगीतकार रविन्द्र जैनले गर्नुभएको छ ।

डिशहोमले आफ्ना ग्राहकहरूको स्वाद र चाहनालाई प्राथमिकता दिँदै रमाइलो टिभीमार्फत यस ऐतिहासिक धार्मिक श्रृंखला नेपाली भाषामा प्रस्तुत गर्न लागेको हो। हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध छ ।

डिशहोमले यसअघि पनि विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदहरू प्रसारण गर्दै ग्राहकको मन जित्दै आएको छ । अब डिशहोमको रमाइलो टिभीमार्फत ‘रामायण’ जस्तो ऐतिहासिक र आध्यात्मिक कथा आफ्नै भाषामा हेर्न पाउनु दर्शकका लागि अद्भुत अनुभव हुनेछ ।