देशभर झरी शुरु भएको छ । यससँगै पहाड चिरिँदै छ, खोल्सामा बाढी उर्लंदैछ र गम्भीर खतराका चेतावनीहरु आउन थालेका छन् । त्यसैले अब कसैले पनि कुनै प्रकारको लापरबाही गर्ने बेला छैन । विगत वर्षहरुमा हामीले भोगेको विनाशले अहिलेको खतरा केवल अनुमान होइन, एक घडी घण्टी हो । अब पनि हामी संवेदनशील बन्न नसक्ने हो भने कैयौँ बस्तीहरू हराउनेछन्, सडकहरू बग्नेछन् अनि जनधनको अपूरणीय क्षति हुनेछ ।
ठूलो क्षतिबाट बच्ने सबैभन्दा प्रमुख कुरा भनेकै सर्वसाधारणहरु सचेत र सतर्क हुनु हो । यति हुँदाहँुदै पनि बाढी–पहिरोले गाउँ नै बगाउन सक्छ, पूरै गाउँबस्तीहरु पुरिदिन सक्छ । यस्तो समयमा तीनवटै सरकारले हातेमालो गर्दै तत्काल उद्धार र राहतमा जुटेर जनतामा वास्तविक सरकार भएको अनुभूति दिन सक्नुपर्छ ।यो समय सरकारका सबै संयन्त्रहरू पूर्ण सतर्क र सक्रिय रहने समय हो । केवल कुन मन्त्रालयको अधिकार क्षेत्र हो भन्ने बहानामा अलमलिने होइन, हातेमालो गर्दै सँगसँगै अघि बढ्ने बेला हो । उद्धार, राहत र पुनस्र्थापनाको तयारी अब ‘पछि हेर्ने’ विषय होइन, यो आजैको प्राथमिकता हुनुपर्छ ।
हाम्रा गाउँहरूमा विकासका नाममा भइरहेका डोजर आतंक, वनविनाश र अनियन्त्रित खानी उत्खनन आजका प्रकोपका मुख्य कारण बन्न पुगेका छन् । यी सबै राज्यसञ्चालनका क्रममा देखा परेका भ्रष्टाचार र अनियमितताका उपज हुन् ।पहाड छिचोलिन्छ, सडक खनिन्छ तर न भूगर्भ अध्ययन हुन्छ, न दीर्घकालीन सोच । फलस्वरूप, बर्खा लागेपछि ढुंगा र माटो बग्न थाल्छ अनि त्यही माटोमा सपना गाडिन्छ । के विकास यति अन्धो हुनुपर्छ कि यसले जीवन नै हरण गरोस् ? शासकरुले यस विषयमा कहिल्यै पनि ठण्डा दिमागले सोच्न सकेका छैनन् । दूरगामी सोच र भिजन नभएका शासकहरुकै कारण मुलु्क र मुलुकवासीले अहिले विपद्पछिका ठूला–ठूला संकट भोग्न बाध्य भइरहेका छन् । हजारौँ नागरिकले अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । यसलाई एक किसिमको राज्यसिर्जित हत्याको रुपमा समेत चित्रण गर्न सकिन्छ, जसले गर्दा शासकहरु सधैँ अपराधीजस्ता बन्ने गरेका छन् । यो दुःखद पक्ष हो ।
डोजरे विकासको नाममा भइरहेका अनियन्त्रित कार्यहरू तत्काल नियन्त्रणमा लिनु आजको आवश्यकता हो । विकास गर्नु छ, अवश्य गर्नु छ तर विवेकसाथ, भूगर्भ र वातावरणको अध्ययनसहित गरिनुपर्छ । त्यसै गरी, खानी तथा उत्खनन कार्य पनि अब ‘जो जहाँ जे मन लाग्यो त्यही खन’ भन्ने शैलीमा चल्न सक्दैन । सरकारले यी क्षेत्रमा ठोस नीति, प्रभावकारी कार्यान्वयन र कठोर निगरानी अविलम्ब गर्नुपर्छ । तत्कालका लागि त राहत, उद्धार र जोखिम न्यूनीकरणमा जुट्नुपर्छ । तर दीर्घकालीन दृष्टिकोणविना हरेक वर्ष बर्खा आउँदा त्रास फैलने हो भने, हामीले राष्ट्रको शिरमा ‘विकास’को माला होइन, ‘विनाश’को ताज पहि¥याइरहेका हुनेछौं । अब पनि समय छ, प्रकृतिलाई चुनौती दिन बन्द गरौँ, प्रकृतिसँग मिलेर बाँचौँ । सरकारले पनि भोलिको सन्देश आजै सुन्नुपर्छ : विकास चाहिन्छ तर विनाशको मूल्यमा होइन । अर्कोतर्फ आम नगारिक पनि वर्षायामसँगै सम्भावित दुर्घटनाबाट बच्न सचेत बन्नै पर्छ ।











प्रतिक्रिया