डोको रीसाइक्लर्स, हिम इलेक्ट्रोनिक्स र प्राक्टिकल एक्सन नेपाल द्वारा विद्युतीय फोहोरका लागि स्वेच्छिक ईपीआर सम्झौतामा हस्ताक्षर


काठमाडौँ
नेपालमा पहिलो पटक प्रयोगपछि फालिने विद्युतीय उपकरणको सुरक्षित व्यवस्थापन गर्न डोको रीसाइक्लर्स प्रा.लि., हिम इलेक्ट्रोनिक्स प्रा.लि. र प्राक्टिकल एक्सन नेपालबीच स्वेच्छिक विस्तारित उत्पादक जिम्मेवारी (ईपीआर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौता “नेपाली घरपरिवारमा विद्युतीय प्रेसर कुकरको उपयोग वृद्धि“ सम्बन्धी परियोजनाको हिस्सा हो, जसलाई स्वच्छ खाना प्रणाली अनुसन्धान कार्यक्रम (ट्रान्सफरिङ हेल्दी डायेट्स रिसर्च इनिसिएटिभ) अन्तर्गत आर्थिक सहयोग दिइएको हो । आठ वर्षे यो अन्तर्राष्ट्रिय अनुसन्धान परियोजना यूके फन्डिङ संस्थाको सहायतामा संचालन भइरहेको छ । सम्झौता २०२५ जुन २६ गते मागोल्छा ग्रुपको कर्पोरेट कार्यालयमा सम्पन्न भयो ।

डोको रीसाइक्लर्सले प्रयोगपश्चात फालिएका विद्युतीय सामानको सुरक्षित पुनःप्रयोग र रिसाइकलको व्यवस्था गर्नेछ । संस्थाका सह–संस्थापक राघवेन्द्र महतोले भन्नुभयो, “यो सुरुवात मात्र हो । भविष्यमा हिम इलेक्ट्रोनिक्स जस्ता अन्य जिम्मेवार कम्पनीलाई पनि यो अभियानमा जोड्ने हाम्रो लक्ष्य छ ।”

यस सम्झौतामा प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना अभिवृद्धि र अनुगमनको भूमिका निर्वाह गर्नेछ । संस्थाका प्रतिनिधि रबिन श्रेष्ठले भने, “नेपालमा यस्तो (अग्रगामी) पहलको हिस्सा बन्न पाउँदा हामी गर्वित छौं ।”

विद्युतीय फोहोरको व्यवस्थापन नेपालको वातावरणीय चुनौतीमध्येको एक हो । यस सम्झौताले निजी क्षेत्र, सामाजिक संस्था र पुनःप्रयोगकर्ता संस्था बीचको सहकार्यलाई सुदृढ गर्दै जिम्मेवार फोहोर व्यवस्थापनतर्फ राष्ट्रलाई अग्रसर गराएको छ । यो सम्झौता नेपालको ई–फोहोर व्यवस्थापनमा ऐतिहासिक कदमको रूपमा हेरिएको छ ।