युद्ध अन्त्यको प्रयासमा ट्रम्पको प्रशंसा गर्दै पुटिनले दिए श्रेय


मस्को।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्न गरेको प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन्। उनले अमेरिका–रुस सम्बन्ध सुधारतर्फ अघि बढिरहेको उल्लेख गर्दै यसको श्रेय ट्रम्पलाई दिएका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार, पुटिनले भने, “राष्ट्रपति ट्रम्पलाई धन्यवाद, वार्ता र सम्बन्ध सुधार गर्ने दिशामा अगाडि बढेको छ। यद्यपि अझै धेरै कूटनीतिक भिन्नताहरू छन्।”

गत वर्ष राष्ट्रपति पदको उम्मेदवारीका क्रममा ट्रम्पले आफू निर्वाचित भएमा रुस–युक्रेन युद्ध तुरुन्तै रोक्ने दाबी गरेका थिए। तर राष्ट्रपति बनेको करिब छ महिना बितिसक्दा पनि युद्ध जारी छ। ट्रम्पले यसै हप्ता भनेका थिए कि पुटिन द्वन्द्व समाधानको बाटो खोज्न चाहन्छन्, तर युक्रेन र युरोपेली मुलुकहरू यसमा इच्छुक देखिँदैनन् भन्ने आरोपसमेत लगाएका थिए।

पुटिनले यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले युद्धको जटिलता पहिचान गरेको बताउँदै भने, “उनले (ट्रम्प) हालै भनेका थिए कि यो बाहिरबाट देखिने भन्दा धेरै गाह्रो भयो। ठीक छ, यो सत्य हो।”

रुस र अमेरिका बीच सम्बन्ध सुधारको संकेतसहित पुटिनको यो टिप्पणी युक्रेन युद्ध जारी रहँदै गर्दा आएको हो। बीबीसीको सहयोगमा