इजरायली आक्रमणमा अर्को इरानी आणविक वैज्ञानिकको मृत्यु


काठमाडौँ।

इजरायली आक्रमणमा अर्को इरानी आणविक वैज्ञानिकको निधन भएको पुष्टि भएको छ। इरानको विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसार, रासायनिक इन्जिनियरिङमा स्नातक गरेका र आणविक वैज्ञानिकका रूपमा चिनिएका सुलेमानीको हालैको इजरायली आक्रमणमा ज्यान गएको हो।

बीबीसी फारसीका अनुसार विश्वविद्यालयले वैज्ञानिक सुलेमानीको मृत्यु कहाँ भएको भन्ने विषयमा स्पष्ट जानकारी नदिएको बताइएको छ। यद्यपि, पछिल्ला दिनहरूमा इजरायलले इरानका विभिन्न स्थानमा गरेको आक्रमणमा आणविक र सैन्य अड्डाहरू मात्र नभई, आणविक वैज्ञानिक र सैन्य कमाण्डरहरूलाई पनि निशाना बनाउँदै आएको छ।

१२ दिनसम्म चलेको इजरायल–इरान युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणासँगै समाप्त भइसकेको छ। तर युद्धविरामपछि पनि क्षेत्रीय तनाव कायमै रहँदा इरानका आणविक वैज्ञानिकहरूको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ।-बीबीसीबाट