अहमदाबाद विमान दुर्घटना: ब्ल्याक बक्स दिल्ली ल्याइयो, अनुसन्धान सुरु


काठमाडौँ।

जुन १२ मा लन्डनका लागि उडेको एयर इन्डियाको AI-171 विमान अहमदाबादमा दुर्घटनामा परेको घटनाबारे औपचारिक रूपमा अनुसन्धान सुरु गरिएको छ। भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार, विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) ले अन्तर्राष्ट्रिय ‘शिकागो कन्भेन्सन’को प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

अनुसन्धानको लागि AAIB का महानिर्देशकको नेतृत्वमा एक उच्चस्तरीय टोली गठन गरिएको छ। उक्त टोलीमा उड्डयन चिकित्सा विशेषज्ञ, हवाई ट्राफिक नियन्त्रण अधिकारी, र अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का प्रतिनिधिहरू समेत सहभागी छन्।

घटनाको प्रारम्भिक विवरणअनुसार, लन्डन जाँदै गरेको विमानमा २४२ जना यात्रु सवार थिए। तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि गरिएको छ भने एक जना मात्र जीवित रहेका छन्। विमान जमिनमा खस्दा स्थानीय बासिन्दा समेत प्रभावित भएका थिए, जसमा २७० जनाको मृत्यु भएको बताइएको छ। यस घटनालाई भारतको इतिहासमै सबैभन्दा पीडादायी विमान दुर्घटनामध्ये एक मानिएको छ।

अनुसन्धानलाई गति दिनका लागि घटनास्थलबाट ककपिट भ्वाइस रेकर्डर (CVR) र उडान डेटा रेकर्डर (FDR) अर्थात् ‘ब्ल्याक बक्स’ बरामद गरिएका छन्। ती ब्ल्याक बक्सहरू २४ जुन २०२५ मा भारतीय वायुसेनाको विशेष विमानमार्फत पूर्ण सुरक्षासाथ दिल्लीस्थित AAIB को प्रयोगशालामा पुर्‍याइएको हो।

हाल, भारतीय र अमेरिकी प्राविधिकहरूको संयुक्त टोलीले CVR र FDR बाट सुरक्षित रूपमा डाटा निकालेर विश्लेषण कार्य सुरु गरिसकेको छ। मन्त्रालयले आगामी दिनमा प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिने जानकारी दिएको छ। बीबीसीबाट