इरानबाट एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए


काठमाडौं ।

पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर बुधबार एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू इरानबाट अफगानिस्तान फर्किएका छन्। स्थानीय अधिकारीहरूले उनीहरूलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित आवश्यक सबै सेवा उपलब्ध गराइएको जानकारी दिएका छन्।

अफगानिस्तानले पश्चिमी हेरात र निमरोज प्रान्तमा दुईवटा प्रमुख सीमाहरू खुला गरेको छ, जसका कारण दुवै स्थानबाट स्वदेश फर्कने शरणार्थीहरूको संख्या बढेको छ। निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट दैनिक दुई–तीन हजार व्यक्ति र ३०० परिवारहरू अफगानिस्तान फर्किरहेको प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले जानकारी दिनुभएको छ।

हाल विश्वमा करिब ७० लाख अफगान शरणार्थीहरू छन्, जसमा धेरैजसो कागजात विहीन आप्रवासीहरू छन् र उनीहरूको संख्या इरान र पाकिस्तानमा सबैभन्दा बढी छ।

अफगान शरणार्थीहरूको स्वदेश फिर्ताले क्षेत्रीय शान्ति र स्थिरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।