थारु फिल्म तथा सांस्कृतिक महोत्सवमा कलाकर्मी सम्मानित


इटहरी– थारु समुदायको मौलिकता, संस्कृति र फिल्म क्षेत्रको प्रवद्र्धन गर्ने भन्दै सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव २०८२ हालै सम्पन्न भएको छ।

दुई दिने महोत्सवको पहिलो दिन प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका थिए। महोत्सवको पहिलो दिन थारु कला, संस्कृति र समाजमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा थारु भाषाको पहिलो टेलिफिल्म जित्त भुतका लेखक तथा निर्देशक सागर ढुंगेल, संगीतकार तथा गायक फणीन्द्र सुवेदी, कलाकार दिनेश कोइराला, मोडल गणेश बहादुर राउत आर्यान, गायक तथा संगीतकार रामा मण्डल, गायक, संगीतकार तथा वाद्यवादक लालबहादुर चौधरी, निर्माता तथा निर्देशक लाखमान योञ्जन र भीम लामा, संगीतकार तथा गायक सत्यनारायण चौधरीलगायतलाई सम्मान गरिएको थियो।

महोत्सवमा थारु फिल्म प्रदर्शन, विभिन्न सांस्कृतिक गतिविधि, थारु नृत्य प्रतियोगिता, झाकी प्रदर्शनलगायतका कार्यक्रम समावेश गरिएका थिए।पहिलो दिन प्रदर्शित १३ झाँकीबाट जब्दी टोल विकास, रामधुनी १ ले उत्कृष्ट झाँकी प्रदर्शन गरी ५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो। त्यस्तै १० समूह सहभागी नृत्य प्रतियोगिताअन्तर्गत रियालिटी क्रुले १० हजार नगदसहित प्रथम स्थान हासिल गर्‍यो भने भर्सटायल डान्स ग्रुपले ७ हजार नगदसहित द्वितीय र एसडी क्रिएसनले ५ हजार नगदसहित तृतीय स्थान हासिल गर्‍यो।थारु समुदायका नयाँ कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेको महोत्सव थारु फिल्म तथा सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजना र थारु फिल्म तथा सांस्कृतिक संघ मोरङ र सुनसरी कार्य समितिको सहआयोजनामा सम्पन्न भएको हो।