यात्रा जिरो टु ८८४८ सम्मको


नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र जिरो टु ८८४८ को राजधानीमा आयाजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।
निरञ्जन पाण्डे र बलराम बुढाथोकीको संयुक्त निर्देशन तथा सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा निर्मित वृत्तचित्रमा सगरमाथा चढ्न हिँडेकाहरूको कथा, संकल्प र बाटोमा उनीहरूले भोग्ने चुनौती देखाइएको छ। सञ्चारकर्मी बानियाँले पहिलो यात्राका रूपमा यात्रा थालेका थिए। त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ।

कचनकवलदेखि शुरू भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै, ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा हुँदै सुर्के, फाक्दिङ हुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्पसम्म पुग्छ। त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुन्छ।

‘यो केवल वृत्तचित्रमात्रै होइन, देश चिनाउने हाम्रो अठोट हो’ पत्रकार बानियाँले कार्यक्रममा भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौँ।’वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायांकन गरेका हुन्।