आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा


काठमाडौं
आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनलाई औपचारिक रूपमा सार्वजनिक गर्नु भएको हो ।
आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ । यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् ।
फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ ।