तेहरान ।
जुन २५ — अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलमाथि गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको प्रारम्भिक मूल्याङ्कन सार्वजनिक भएको छ। अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर संस्था डिफेन्स इंटेलिजेन्स एजेन्सीले तयार पारेको यो मूल्याङ्कन अनुसार, आक्रमणबाट भएको क्षति गम्भीर नभएको र संरचनाहरू एक महिनाभित्र पुनःनिर्माण गर्न सकिने देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको अवस्थाको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो।
यसबीच, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले उक्त रिपोर्टप्रति आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट अमेरिकी गुप्तचर निकाय तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल देखाउन गरिएको गलत प्रयास भएको बताएकी हुन्।
ह्वाइट हाउसले रिपोर्टको अस्तित्वलाई स्वीकारे पनि त्यससँग असहमति जनाएको बताइएको छ।











प्रतिक्रिया