इरान–इजरायलबीचको लामो समयदेखि चलिरहेको छाया द्वन्द्व अहिले खुला युद्धमा परिणत भएको छ । पछिल्लोपटक अमेरिका प्रत्यक्षरूपमा इजरायलको पक्षमा मैदानमा उत्रिएपछि यो द्वन्द्व अब केवल दुई राष्ट्रबीचको मात्र रहेन, यसले विश्व राजनीतिमा व्यापक तरंग ल्याएको छ । कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमणपछि झन् जटिल मोड लिएको यो संघर्ष अब अरब भूभागमै फैलिने संकेत देखिन थालेको छ ।
युद्धले केवल सैनिक र राजनीतिक नेतृत्वलाई होइन, सर्वसाधारण जनतालाई पनि गहिरो त्रासमा राखेको छ । इरान र इजरायलमा रहेका नेपाली नागरिकहरू पहिल्यै युद्धको छायामा अड्किएका थिए भने अब कतारजस्तो सुरक्षित मानिएको मुलुकमा रहेका करिब ४ लाख नेपाली कामदारसमेत त्रासको घेरामा परेका छन् । युद्धको यदि क्षेत्रीय विस्तार भयो भने ती नेपालीलाई सुरक्षितसाथ फर्काउने चुनौती नेपाल सरकारका लागि असहज, खर्चिलो र कठिन हुनेछ ।
युद्धको वर्तमान स्वरूप हेर्दा अब यो दुई मुलुकको सानो द्वन्द्वभन्दा बाहिर गइसकेको स्पष्ट छ । अमेरिकी हस्तक्षेपले यसको अन्तर्राष्ट्रिय स्वरूपलाई औपचारिकता दिएको छ । शक्तिशाली राष्ट्रको ‘दादागिरी’ शैलीमा एक पक्षीय हस्तक्षेपले विश्व राजनीतिमा शान्ति, कूटनीति र समन्वयको आधार नै कमजोर पारिदिएको छ । यस युद्धमा सयौं मानिस मारिइसकेका छन्, हजारौं घाइते छन् र लाखौं मानिस विस्थापित भइसकेका छन् ।
खाद्य संकट, आप्रवासी समस्या, आपूर्ति सञ्जालको ध्वस्तताजस्ता मानवीय संकटहरू अझै बढ्ने निश्चित देखिन्छ । यो द्वन्द्व केवल बारुद, क्षेप्यास्त्र र रणनीतिक मोर्चामा सीमित छैन, यसले सभ्यता र मानवता नै संकटमा पारिदिएको छ । शान्तिकामी विश्व समुदायको नजर अब संयुक्त राष्ट्रसंघ, मुस्लिम राष्ट्रहरू र पश्चिमी शक्तिहरूतर्फ छ, जसले यो आगो निभाउन सकून् । तर जब उनीहरू आफैं पक्षपाती भूमिकामा छन्, तिनबाट निष्पक्ष हस्तक्षेपको अपेक्षा गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।
यो द्वन्द्वले फेरि पनि प्रमाणित गरिदिएको छ, जहाँ शक्ति सन्तुलन भत्किन्छ, त्यहाँ शान्तिको सपना मात्र बाँकी रहन्छ । युद्ध समाधान होइन, विनाश हो । अहिलेको आवश्यकता शक्ति प्रदर्शन होइन, संयमता, संवाद र सहअस्तित्व हो । यदि विश्वले तत्काल युद्ध रोक्न साझा प्रयास गरेन भने, आगोको छिटा केवल इरान–इजरायलमा मात्र सीमित रहनेछैन । यसले सम्पूर्ण मानव सभ्यतालाई अस्थिर बनाउन सक्छ । त्यसैले युद्ध उन्मुख विश्वले अब शान्तिका लागि प्रयास गर्नु जरुरी देखिएको छ ।
जसरी इरान–इजरायल युद्धको ज्वालामा अमेरिका हाम्फाल्यो, त्यसले केवल क्षेत्रीय संकटलाई अन्तर्राष्ट्रिय बनाइदिएको छ । अब हरेक शक्तिशाली राष्ट्रले आफ्नो हात कति शक्तिशाली हो भनेर देखाउने बेला होइन, कति संयमित बन्न सकिन्छ भनेर प्रमाणित गर्ने बेला हो । शान्तिको भाषालाई कमजोर ठान्नेहरुले इतिहास बिर्सेका छन् । दुईवटा विश्वयुद्धले मानव सभ्यतामा कालो बादल मडारिएको थियो । लाखौं निर्दोष नागरिकको रगत, उजाड बस्ती र पीडाको ग्रन्थ बनिसकेको छ विगत ।
अब तेस्रोपटक त्यो कथा फेरि लेख्नु भनेको मानवताको हत्या हो । कतारमा काम गरिरहेका लाखौं नेपाली मात्र होइन, संसारका आम सर्वसाधारण जनताले युद्ध होइन, शान्ति मागिरहेका छन् । शान्ति नै अहिलेको प्रतिरोध हो र सबैभन्दा सशक्त हतियार पनि हो ।











प्रतिक्रिया