काठमाडौँ।
इजरायल र इरानबीच घोषित युद्धविराम केही घण्टा पनि नटिक्दै नयाँ विवादको घेरामा परेको छ। इजरायलले इरानमाथि युद्धविराम उल्लङ्घन गरेको गम्भीर आरोप लगाउँदै प्रतिकारस्वरूप तेहरानको संवेदनशील निसानाहरूमा सशक्त सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ।
इजरेली रक्षामन्त्री इजरेल काट्जले एक विज्ञप्ति जारी गर्दै इरानबाट इजरेली भूमीतर्फ क्षेप्यास्त्र प्रहार भएको उल्लेख गर्दै कडा प्रतिक्रिया जनाएका छन्। “तेहरानको मुटुमा रहेका निसानाहरूमा हामीले सघन प्रहार गर्ने आदेश दिएका छौँ,” काट्जले भने।
इरानको अस्वीकार, भ्रम वा गल्तीको आशंका
तेहरानले भने उक्त आक्रमणको आरोप अस्वीकार गर्दै घटनाबारे स्पष्ट जानकारी नआएको बताएको छ। इरानी विदेशमन्त्रीले यसअघि नै इजरेलले आक्रमण बन्द गरेमा मात्रै आफूहरूले युद्धविरामलाई मान्यता दिने बताएका थिए।
बीबीसीका जेरुसलेमस्थित संवाददाता ड्यान जोन्सनका अनुसार क्षेप्यास्त्र प्रहार कसरी भयो भन्ने अझै स्पष्ट छैन। “कतै गल्ती वा अन्य कारणले घटना भएको हुन सक्छ, तर इजरेली अधिकारीहरूले यसलाई युद्धविराम उल्लङ्घन मानेका छन्,” जोन्सनले बताए।
इजरायलको चेतावनी: ‘तेहरान काम्नेछ’
घटनाको केही समयमै इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका निकट सहयोगी तथा कट्टर दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोत्रिखले सामाजिक सञ्जाल ‘एक्स’ मा छोटो तर तीव्र सन्देश लेखे — “तेहरान काम्ने छ।”
यसबीच, इजरेली सेनाले आम नागरिकलाई सतर्क रहन र सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेको छ। हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जानकारी दिँदै इजरेली डिफेन्स फोर्सेस (आइडीएफ) ले घटना गम्भीर भएको संकेत गरेको छ।
आइडीएफको प्रतिक्रिया: ‘सशक्त प्रतिवाद’ हुने
आइडीएफ प्रमुख एयाल जमीरले इरानी आक्रमणलाई “गम्भीर उल्लङ्घन” भनी टिप्पणी गर्दै आवश्यक सबै सैन्य प्रतिक्रिया जनाइने बताएका छन्। “हामी युद्धविरामको उल्लङ्घनलाई सशक्त ढंगले प्रतिवाद गर्नेछौँ,” जमीरले एक्समार्फत जनाएका छन्।
युद्धविराममाथि प्रश्नचिन्ह
युद्धविरामको घोषणाबाट केही आशा पलाए पनि पछिल्ला घटनाक्रमले शान्ति प्रक्रियामा गहिरो संकट ल्याएको प्रस्ट देखिन्छ। आकाशमा फेरि साइरन गुञ्जिन थालेसँगै इजरेलका सर्वसाधारण भयमा बाँचेका छन्।
अबको घण्टा, दिन र हप्ता इजरेल–इरान सम्बन्ध र यस क्षेत्रीय द्वन्द्वको दिशा तय गर्ने महत्वपूर्ण चरण हुने निश्चित देखिन्छ। बीबीसीबाट











प्रतिक्रिया