ट्रम्पको दाबी : इरान–इजरायल युद्धविराममा सहमति, आधिकारिक पुष्टि भने छैन


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएको बताएका छन्।

गत जुन १३ देखि जारी द्वन्द्वका क्रममा यी दुई देशले केही घण्टाका लागि युद्धविराम गर्न सहमति जनाएको ट्रम्पको भनाइ छ। यद्यपि, इरान र इजरायल दुवैले हालसम्म युद्धविराममा आधिकारिक रुपमा सहमति भएको पुष्टि गरेका छैनन्।

कतारमा इरानद्वारा गरिएको आक्रमणपछिको केही घण्टामै ट्रम्पले प्रतिक्रिया दिँदै युद्धविरामका लागि सहमति जुटेको बताएका हुन्। तर, इरानले ट्रम्पको उक्त दाबीप्रति कुनै आधिकारिक पुष्टि नगरेको बताएको छ। इरानी सञ्चारमाध्यमहरूले समेत ट्रम्पको भनाइलाई दावीका रूपमा मात्र उल्लेख गरेका छन्।

कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविराम सुनिश्चित गर्न कतारले सहजीकरण गरेको बताएका छन्। तर, इरान र इजरायलले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

अमेरिकी मिडियासँग कुरा गर्ने अधिकारीहरूले कतारमा इरानले गरेको मिसाइल आक्रमणबाट कुनै मानवीय क्षति नभएको जनाउँदै उक्त आक्रमणलाई एकदम कमजोर भनेका छन्।

कतारले भने अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि लक्षित सबै मिसाइलहरू समयमै अवरोध गरिएको बताएको छ। उसले इरानी आक्रमणलाई खुला उल्लंघन भन्दै कडा विरोध जनाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इजरायली सेनाले तेहरानका तीन क्षेत्र खाली गराउन आदेश दिएको उल्लेख गरेका छन्।