युवा श्रमिकमाथिको ठगी तत्काल रोक


नेपालका लाखौं युवाको सपना विदेशमा काम गरेर परिवारको जीवन सुधार्ने र राम्रोसँग जीवनयापन गर्ने हुन्छ । तर यही सपनाको खेती गरेर नेपाली माटोमै उनीहरूलाई ठग्ने अपराध शृङ्खलाले जरा गाडेको छ । वैदेशिक रोजगारीको नाममा हुने ठगी अब दुर्घटनात्मक होइन, नियोजित षड्यन्त्र बनिसकेको छ । योजनाबद्धरुपमा सांगठनिक गिरोह नै खडा गरेर वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुलाई ठग्ने काम दिनानुदिन बढ्नु दुःखद छ ।

ठगीको यति कहाली लाग्दो अवस्था छ कि वैदेशिक रोजगार विभागमा हालसम्म ३६ हजार ठगीसम्बन्धी उजुरी दर्ता भइसकेका छन् । पछिल्लो एक वर्षमै ६ हजारभन्दा बढी नयाँ उजुरी थपिनु गम्भीर चेतावनी हो । तर यसभन्दा पनि अधिक दुःखद कुरा के छ भने, ती उजुरी फस्र्यौट गर्न जम्मा ५ जना अनुसन्धान अधिकृत मात्रै छन् । जनशक्तिको यस्तो भयावह अभावको बीचमा यथास्थितिका नाममा पीडितहरूलाई फेरि पीडा थपिएको छ । न्याय पाउन पीडितहरुले वर्षौंसम्म कुर्नुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीको सुनौलो सपना बोकेर जान कस्सिएकाहरु ठगिएपछि विदेशमा जान नै वञ्चित हुँदै आइरहेका छन् । आफ्नो घरखेत बेचेर, ऋण गरेर जम्मा पारेको पैसा दलालले नै खाइदिने तर विदेश जान नपाउने अवस्था सिर्जना भएपछि कैयौँ युवाहरु डिप्रेसनको सिकार भएका छन् । यतिसम्म कि यस्ता ठगीका कारण आत्महत्याका घटनाहरुसमेत घट्ने गरेका छन् ।

सरकार, सम्बन्धित मन्त्रालय र विभागले समय–समयमा अघि सारेका सुधारका प्रस्तावलाई समेत प्राथमिकतामा नल्याउनु, गम्भीर गृहकार्य नगर्नु र बजेट तथा संरचना विस्तारको कुरा थाती राख्नु निन्दनीय र लाज मर्दो विषय हो । अहिले वैदेशिक रोजगार विभागले हजारौंको संख्यामा रहेका उजुरीहरु फस्र्यौट गर्ने तथा ठगीमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही हुनुपर्ने उद्देश्यसहित विभिन्न विकल्पहरु ल्याएको छ । विभागले ल्याएका विभिन्न विकल्पमध्ये जुन विकल्पले वैदेशिक रोजगारीमा जाने सपना बोकेका युवाहरुविरुद्ध हुने ठगी पूर्णरुपमा रोक्छ र ठग्नेहरुलाई तत्काल कारबाही गराउँछ, सरकारले सोही विकल्पलाई नै अंगीकार गरी ठग, बदमासहरुलाई ठाउँका ठाउँ कारबाही गर्ने वातावरण सिर्जना गर्नुपर्छ, ताकि अन्य युवाहरुले आगामी दिनमा कहिल्यै ठगिन नपरोस् । जब राज्यको संयन्त्र आफैं लाचार हुन्छ, त्यहीँबाट भ्रष्टाचार र अपराधको उत्सव शुरु हुन्छ । दलालहरू मौलाउँछन्, एजेन्टहरूको मनोबल बढ्छ र अन्ततः बिचल्ली हुन्छ ती श्रमिक वर्गको, जसले देशमा आर्थिक चलायमानता ल्याइरहेका छन् ।

यो केवल वैदेशिक रोजगार ठगीको प्रश्न होइन, यो राज्यको संवेदनशीलता, नागरिकप्रतिको उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धताको प्रश्न हो । त्यसैले अब सरकारको प्राथमिकतामा वैदेशिक रोजगार विभागको जनशक्ति विस्तार तत्काल पर्नुपर्छ । उजुरी छानबिन र फस्र्यौटको कार्यलाई समयबद्ध बनाउने कार्ययोजना स्पष्ट हुनुपर्छ । ठगी गर्ने म्यानपावर कम्पनी, दलाल, मिलेमतो गर्ने कर्मचारीलाई सार्वजनिक गरेर कडा कारबाही गरिनुपर्छ । विदेश जाने युवाको सपना बेच्नेहरू कानुनी कठघरामा उभिनै पर्छ । नत्र, ठगिएर फर्किएका युवाको आँसु, रित्याइएका परिवारको वेदनाले राज्यको नैतिकता नै भत्काउनेछ । नेपालले आफ्ना श्रमिक नायकहरूलाई संरक्षण गर्न सकेन भने राष्ट्रको भविष्य आफैं शून्यतामा गुम्सिनेछ । अब पनि नसच्चिने हो भने इतिहासले माफ गर्नेछैन ।