नेपाली सेनाद्वारा बाँकेमा निःशुल्क स्वास्थ्य शिविर, ७११ स्थानीय लाभान्वित


बाँके।

नेपाली सेनाले बाँके जिल्लाको नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। असार ७ गते सम्पन्न उक्त शिविरमा ७११ जना स्थानीयवासीले प्रत्यक्षरूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

बाँकेस्थित नेपाली सेनाको बज्रदल गण र सैनिक अस्पताल, नेपालगञ्जको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा महिला २५९, पुरुष २२६ र बालबालिका २२६ जना रहेका थिए।

शिविरमा बाल रोग, छाला तथा यौन रोग, स्त्री र प्रसूति रोग, डेन्टल सेवा, नाक–कान–घाँटी समस्या, नशा तथा हाड–जोर्नी सम्बन्धी रोगहरूको विशेषज्ञद्वारा चेकजाँच र निःशुल्क औषधि वितरण गरिएको थियो।

सैनिक अस्पताल नेपालगञ्जका चिकित्सकहरूसँगै स्थानीय स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरूको समेत सक्रिय सहभागिता रहेको उक्त शिविर बाँके जिल्लाका पछाडि परेका तथा सरकारी सेवा सुविधामा कम पहुँच भएका जनताहरूको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।

स्थानीय जनप्रतिनिधि तथा सेवाग्राहीहरूले नेपाली सेनाको यो पहलले ग्रामीण भेगका सर्वसाधारणलाई राहत दिएको भन्दै प्रशंसा गरेका छन्। नेपाली सेनाले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका दुर्गम तथा पिछडिएका स्थानहरूमा यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ।