वायु प्रदूषण : नेपालमा ‘साइलेन्स किलर’


नेपालमा वायु प्रदूषण अब केवल वातावरणीय चुनौती मात्र रहेन, यो नेपालमा एक ‘साइलेन्स किलर’ (मौन महामारी) का रूपमा विकसित भइसकेको छ, जसले मानव जीवन, राष्ट्रिय अर्थतन्त्र र समृद्धि सबैमा गहिरो असर पारिरहेको छ । हालै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन ‘टुवर्डस क्लिन एयर इन नेपाल : बेनिफिट्स, पोलुसन सोर्सेज एन्ड सोलुसन्स’ ले नेपालको वायु गुणस्तरसम्बन्धी स्थिति अत्यन्त गम्भीर रहेको प्रस्ट पारेको छ । प्रतिवेदनका अनुसार प्रत्येक वर्ष झन्डै २६ हजार नेपालीको मृत्यु वायु प्रदूषणका कारण भइरहेको छ भने औसत आयु ३.४ वर्षले घटेको छ ।

अर्को गम्भीर कुरा वायु प्रदूषणकै कारण नेपालले वार्षिक जीडीपीको ६ प्रतिशतभन्दा बढी आर्थिक क्षति व्यहोर्दै आएको तथ्यले यस समस्याको आर्थिक आयाम पनि प्रस्ट पार्छ ।यो अवस्थालाई नेपालको तत्कालीन जनस्वास्थ्य प्रणालीले न सम्हाल्न सक्छ, न त वातावरणीय नीतिहरूले समाधान दिन सक्छन् । यसको असर स्वास्थ्य, श्रम उत्पादकता, पर्यटन र हवाई उड्डयनजस्ता धेरै क्षेत्रमा व्यापकरूपमा देखिन थालेको छ ।

प्रतिवेदनले उजागर गरेका केही स्वास्थ्यसम्बन्धी असरहरू अति चिन्ताजनक छन् । दीर्घ श्वासप्रश्वास रोग ७५ प्रतिशत, स्ट्रोक ४६ प्रतिशत, मुटुरोग ४४ प्रतिशत, श्वासप्रश्वास ४१ प्रतिशत, फोक्सोको क्यान्सर ३८ प्रतिशत र नवजात समस्याहरूमा ३० प्रतिशतले वृद्धि रहेको तथ्यांक छ । यसले नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमाथि दीर्घकालीन चुनौती थपिएको संकेत गर्दछ । विशेष गरी काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणको केन्द्रविन्दु मानिएको छ । काठमाडौंको विशेष भौगोलिक बनावटका कारण यहाँ वायु प्रवाह रोकिन्छ, जसले प्रदूषणलाई थुपार्ने संरचनात्मक कारक भएको छ ।

वायु प्रदूषणका निम्ति अनियमित र धुवाँ उत्सर्जन गर्ने सवारीसाधन, उद्योग र निर्माण कार्य, वन डढेलो र परम्परागत खाना पकाउने प्रविधि मुख्य कारक मानिएको छ । यसमा सीमापारबाट हुने प्रदूषण पनि थपिएको छ । वायु प्रदूषणको समस्या विकराल रहेको कुरामा दुई मत छैन । अब समाधानका उपाय पनि खोज्न जरुरी छ, जसका निम्ति सरकारले स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्छ । विद्युत्, ब्रिकेट वा जैविक इन्धनमा आधारित बायलर र चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै सवारी प्रदूषण अनिवार्य परीक्षण र मर्मत व्यवस्थामा कडाइ, डढेलो नियन्त्रण, निर्माण कार्यमा सचेतता र छिमेकी राष्ट्रसँग प्रदूषण नियन्त्रणमा समन्वय तत्काल गर्न सकिने उपाय हुन् ।

त्यस्तै डाटा प्रणाली सुधार गर्दै आर्थिक प्रोत्साहनतर्फ स्वच्छ ऊर्जामा कर छुट, प्रदूषण कर बढाउने, स्वच्छ ऊर्जा पूर्वाधार विस्तार, पहुँचयोग्य जैविक इन्धन, वैकल्पिक ऊर्जा आपूर्ति पनि रणनीतिक र दीर्घकालीन नीतिगत प्रतिबद्धता आवश्यक देखिन्छ । नेपालले तुरुन्तै प्रविधि रूपान्तरण, नीतिगत कार्यान्वयन र क्षेत्रीय समन्वयमा गम्भीरता देखाएन भने सन् २०३५ सम्ममा स्थिति झन् भयावह बन्ने विश्व बैंकको चेतावनीले पनि उल्लिखित विषयमा नेपाल गम्भीर बन्न जोड दिएको छ ।

स्वच्छ वायु स्वास्थ्यका साथै समृद्धिको आधार पनि हो । वायु प्रदूषणको समस्या स्वास्थ्य, वातावरण, नीति, कूटनीति र सामाजिक न्यायसँग गाँसिएको जटिल बहुआयामिक चुनौतीलाई सम्बोधन गर्ने माध्यम पनि बहुआयामिक हुनुपर्छ । केवल जनचेतना वा प्रविधि हस्तान्तरणले मात्र होइन, सशक्त राजनीतिक इच्छाशक्ति, क्षेत्रीय सहकार्य र नागरिक–निजी–संस्थागत समन्वय आवश्यक छ । नेपालको वायुमण्डल शुद्ध राख्न सक्नु केवल मानव स्वास्थ्य र अधिकारको रक्षा मात्र होइन, यो समृद्ध राष्ट्र निर्माणतर्फको आधारभूत पाटो हो ।