काठमाडौँ
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो ।
महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो । मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिम पूर्णरूपमा निःशुल्क प्रदान गरिँदैछन् ।
काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भयो । उनले भन्नुभयो, ’जब ‘सिप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौं । यो मेलाले ३० भन्दा बढी विभिन्न तालिममार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पु¥याउनेछ ।’
उनले थपे, ’हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गर्यौं, किनभने यसले युवालाई मार्गदर्शन, सिप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ ।’
सिप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो । जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ । हामी गर्व गर्छौं जब युवाहरू सक्षम बन्छन्, जब उनीहरूले रोजगारी सिर्जना गर्छन् ।’ नेपाल लाइफको भनाइ छ ।
सिप मेलामा नेपालभरिका युवाहरू सहभागी छन्। कोही पहिलोपटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन् । मेलाले उनीहरूलाई चाहिएको सिप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ ।
काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसी भन्छन्, ’रोजगार र आयबृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ मेलाले तीन वर्षे योजना अन्तर्गत कार्य गरिरहेको छ, जुन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्दछ। मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय छ,जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय छ ।’











प्रतिक्रिया