नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो, तर यो सुन्दरतासँगै प्राकृतिक विपत्तिको भारी बोकेको मुलुक पनि हो । भौगोलिक बनावट, जलवायु परिवर्तन र मानव सृजित क्रियाकलापहरूले गर्दा नेपाल प्रायः हरेक वर्ष कुनै न कुनै स्वरूपको दैवी विपत्तिको मारमा पर्ने गरेको छ । भूकम्प, पहिरो, बाढी, डुबान, चट्याङ, हावाहुरी, आगलागी, सुख्खा लाग्नेजस्ता विपत्तिहरूले नेपाललाई बारम्बार थिच्दै आएको छ । नेपाल विपद् जोखिमको दृष्टिले विश्वकै २० बढी जोखिमयुक्त देशहरूमध्ये पर्छ ।
२०७२ को विनाशकारी भूकम्प, जसले हजारौंको ज्यान लियो र करोडौंको सम्पत्ति नष्ट ग¥यो, यसको एउटा कटु उदाहरण हो । त्यसयता पनि हरेक वर्ष बाढीपहिरोले दर्जनौं नागरिकको ज्यान जाने, हजारौं विस्थापित हुने, खेतीबाली सखाप हुने र पूर्वाधार तहसनहस हुने घटनाहरू सामान्यजस्तै भएका छन् ।
नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुन, नीति तथा योजना तयार पारेको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ, जसले विपद्को समयमा समन्वयात्मक कार्य गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै सेना, प्रहरी र सशस्त्र प्रहरी बल तयारी अवस्थामा राखिएका छन् । तर नीति र कागजमा सीमित यी तयारीहरू व्यवहारमा पुग्दा अनेक कमजोरी देखिन्छन् ।
प्रशिक्षण नपाएका स्थानीय स्वयंसेवक, यथेष्ट स्रोत–साधनको अभाव, समयमा नपुग्ने उद्धार टोली, अप्ठ्यारो भूगोल र सूचना प्रवाहको कमजोरीले गर्दा राहत एवं उद्धार प्रभावकारी बन्न सकेको छैन । अझ दुःखद त के छ भने, तयारीका पूर्वाधार विकास भइरहेका बेला पनि विपत्तिमा अकालमा ज्यान गुमाउनेको संख्या घट्ने होइन, बरु बढ्दो छ । यसको मूल कारणको रूपमा चेतनाको अभाव र जनस्तरमा देखिएको लापरबाहीलाई लिन सकिन्छ ।
हरेक वर्ष पहिरोको सम्भावना भएका ठाउँमा मानिसहरू बास बसिरहन्छन्, बाढी आउने नदीकिनारमै बस्ती बसाइन्छ र जोखिमयुक्त भवनमै मानिसहरू बस्न बाध्य हुन्छन् । चेतनामूलक कार्यक्रम, अभ्यास, विद्यालयस्तरमा विपद् शिक्षा, सञ्चारमाध्यमद्वारा निरन्तर सचेतना फैलाउने कार्य अझै पनि पर्याप्तरूपमा गरिएको पाइँदैन ।
जनस्तरमा चेतनाको विकास गर्न र लापरबाही घटाउनको लागि अब सरकार, गैरसरकारी संस्था, स्थानीय निकाय र नागरिक समाजबीच सामूहिक पहल आवश्यक भइसकेको छ । विपद् पूर्वतयारीका कार्यक्रमहरू विद्यालयदेखि समुदायसम्म विस्तार गरिनुपर्छ । जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रोत्साहित गर्नुपर्छ । सञ्चारमाध्यमले तथ्यमा आधारित सूचना र सचेतना अभियान सञ्चालन गर्नुपर्छ ।
नेपाललाई विपद् मुलुकबाट विपद्–सुरक्षित मुलुकतिर रूपान्तरण गर्न सकेनौं भने हामी हरेक वर्ष प्रकृतिसँग लड्न बाध्य हुनेछौं । विपद् व्यवस्थापन भनेको उद्धार र राहत मात्र होइन, पूर्वतयारी, चेतना र सहकार्य हो भन्ने बुझाइलाई अब व्यवहारमा उतार्न ढिला गर्नुहुँदैन । अकालमा ज्यान गुमाउनु नियति होइन, हाम्रो कमजोरीको परिणाम हो । यसप्रति हामी सबै सजग हुन जरुरी छ ।











प्रतिक्रिया