हातमा बोरा र प्लास्टिक बोकेर ३७ जना काठमाडौं फर्के

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या बढ्दो

4.04k
Shares

–डीभी परेर गएका पनि निष्कासनमा परे

काठमाडौं


अमेरिकी अध्यागमन नीतिको कडाइसँगै निष्कासनमा पर्ने नेपालीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लोपटक निष्कासित गरिएका ३७ नेपाली प्लास्टिकका झोला र बोरा बोकेर काठमाडौं आइपुगेका छन् । अमेरिकी अध्यागमन ऐन उल्लंघन गरेको भन्दै उनीहरूलाई चार्टर्ड विमानमार्फत सोमबार एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
अमेरिकाबाट फर्काइएका ती नेपालीमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन् । अमेरिकाबाट निष्कासित भएकाहरू अधिकांशले वर्षौंसम्म अमेरिका बसेर काम गरेका थिए । तर, कानुनी कागजात नहुँदा उनीहरूलाई अमेरिकी सरकारले जबर्जस्ती नेपाल फर्काइदिएको हो ।

बोरामा सिंगो सपना
विमानस्थलमा ओर्लिएपछि उनीहरूका अनुहारमा थकाइमात्र होइन, निराशा र अपमानको गहिरो छाया देखिन्थ्यो । धेरैले आफ्नो थोरै सामान प्लास्टिकका झोलामा राखेर ल्याएका थिए भने केहीको साथमा पुराना बोरामात्रै थिए । ‘हामी अमेरिका गएका थियौं राम्रो भविष्यको सपना बोकेर, तर अहिले बोरा बोकेर फर्किनुपर्‍यो’ –त्रिभुवन विमानस्थलमा भेटिएका उनीहरूमध्ये एकले संक्षिप्त प्रतिक्रिया दिए ।

अमेरिकाको एरिजोनामा बस्दै आएका उनीहरूमध्ये एकजना १० वर्षअघि डीभी परेर अमेरिका पुगेको भए पनि श्रीमतीसँगको लफडाका कारण प्रहरी नियन्त्रणमा रहेका बेला उनलाई पनि अवैध आप्रवासी भन्दै नेपाल फर्काइएको छ । काठमाडौंका स्थानीय बासिन्दा उनी रित्तो हात नेपाल फर्कनुपरेको छ । अमेरिकाले ओम्नी इन्टरनेसन एयरवेजबाट ३७ जना नेपालीलाई विमान चार्टर्ड गरेर नेपाल पठाएको थियो ।

उक्त विमान बंगलादेशको ढाका हुँदै नेपाल आएको थियो । विमानभित्र उनीहरूलाई हतकडी लगाएर नेपालको विमानस्थलमा आएपछि खोलेर बाहिर पठाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।अघिल्लोपटक त्यसै गरी विमान चार्टर्ड गरेर ल्याइएका नेपालीलाई नेल र हतकडीसहित विमानबाट ओरालेपछि त्यसको चर्को विरोध भएकाले यसपटक भने विमानभित्रै हतकडी खोलेर उनीरूलाई नेपाली अध्यागमन अधिकारीको जिम्मा लगाइएको थियो । अमेरिकामा अपमान भोगेर नेपाल आइपुगेका उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले समेत केरकार गरेर बोलाएको बेला उपस्थित हुने गरी छोडेको थियो ।

कति नेपाली निष्कासित भए ?
सन् २०१७ यता मात्रै अमेरिका सरकारले करिब १ हजार ५ सयभन्दा बढी नेपालीलाई निष्कासन गरिसकेको छ । ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कठोर नीतिका कारण यो संख्या तीव्र गतिमा बढिरहेको छ ।अहिले पनि करिब ३ सय ५० नेपाली निष्कासनको प्रक्रियामा रहेका छन् । अमेरिकाभित्र अवैध रूपमा बसेका, भिसा अवधि नाघेका अथवा कागजात नवीकरण नगरेका नेपालीहरू अमेरिकी अध्यागमन निकायको निगरानीमा छन् ।

टीपीएसअन्तर्गत बसिरहेका नेपालीको चिन्ता
अमेरिकामा ‘टेम्पररी प्रोटेक्टेड स्टाटस’ अन्तर्गत बसिरहेका करिब ७ हजार नेपाली पनि अन्योलमा छन् । केही नेपालीहरू स्वेच्छाले फर्किने तयारीमा छन् भने धेरैले अमेरिकी सरकारको पछिल्लो रणनीतिप्रति आक्रोश र चिन्ता व्यक्त गरिरहेका छन् । टीपीएसअन्तर्गत काम गर्दै आएका एक नेपालीले बताए– ‘डिपोर्ट हुने डरमात्रै होइन, यहाँको जीवनयापन पनि कठिन हुँदै गएको छ । भाडा, बिमा, खाद्य मूल्य यति बढेको छ कि सामान्य कामदारका लागि जिउन कठिन छ ।’

अमेरिकाभित्रै असन्तुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासन कडाइका विरुद्ध अमेरिकाभित्रै विभिन्न संघ–संस्था र मानवअधिकार समूहले विरोध जनाएका छन् । हालै लस एन्जलसमा भएको हिंसात्मक प्रदर्शनपछि त्यहाँ ३० हजारभन्दा बढी नेसनल गार्ड तैनाथ गरिएको छ, जसले स्थिति थप भयावह बनाएको छ । सामान्य अमेरिकी नागरिकहरूसमेत अहिले मूल्यवृद्धि, बेरोजगारी र प्रशासनको कठोर नीतिका कारण आक्रोशित छन् । आप्रवासीमाथिको दमनले अमेरिकाको बहुसांस्कृतिक छविमा समेत आँच आएको भन्दै विश्लेषकहरूले चेतावनी दिएका छन् ।

नेपाल सरकारले के गरिरहेको छ ?
अमेरिकाबाट निष्कासित गरिएका नेपालीको पुनःस्थापनाका लागि नेपाल सरकारले खास पहल गरेको देखिँदैन । अमेरिका फर्काइएका नेपालीहरू विमानस्थलमै अलमलिएका देखिन्छन् । धेरैको रोजगारी गुमेको छ, सम्पर्क नभएको ठाउँमा परिवार छन् । अन्तर्राष्ट्रिय अध्यागमन सञ्जालका अनुसार, नेपाल सरकारले ती नेपालीको अभिलेख व्यवस्थापन, पुनःस्थापना, मनोपरामर्श र रोजगारीका कार्यक्रम ल्याउनुपर्ने माग बलियो बन्दै गएको छ ।

अमेरिकाबाट निष्कासित हुने नेपालीको बढ्दो संख्या नेपालका लागि चिन्ताजनक संकेत हो । एकातिर अमेरिका सरकारको कठोर नीति छ, अर्कातिर नेपाली सरकारले ती नेपालीहरूका लागि सुरक्षित भविष्यको विकल्प दिन नसकेको यथार्थ छ । ‘विदेश जानुको सपना अझै बाँकी छ, तर अब डर पनि साथमा छ,’ विमानस्थलबाट निस्किँदै गर्दा एक निष्कासित युवा आफ्नो मनको बह यसरी पोख्दै थिए ।