सद्भावको कोर्स रेकर्ड


काठमाडौं ।

नेपाल ’ए’ ले ११ औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जितेको छ । नेपाल ’ए’ का सद्भाव आचार्य र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४–अन्डर २ सय ६४ को स्कोर गर्दै स्वर्ण जितेका हुन् । नेपाल ’ए’ ले भुटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हराएको हो । गोकर्ण गल्फ क्लबमा बुधबार सद्भावले १२ अन्डर ६० को अविश्वसनिय स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए । सद्भावले प्रोफेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११ अन्डर ६१ को रेकर्ड तोडेका हुन् । शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए ।

कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डीसमेत प्रहार गरेका थिए । उनले फ्रन्ट र ब्याक नाइन दुवैमा ६ अन्डर ३० को स्कोर निकालेका थिए । यस्तै, व्यक्तिगत स्पर्धामा उनी भारतका सुमित कोटवालसँग ८ स्ट्रोकले अग्रता लिँदैं शीर्ष स्थानमा रहेका छन् । महिलातर्फ भारतकी अनन्थी विवेक शीर्ष स्थानमै रहेकी छन् । उनले भारतकै दिया क्रिस कुमारलाई १४ स्ट्रोकले पछि पार्दै शीर्षस्थान बलियो बनाएकी हुन् । नेपालकी तारा कार्की चित्रकार तेस्रो स्थानमा छिन् ।