काठमाडौं ।
करातेकी एरिका गुरुङले नेपाली खेलकुदमा अर्को एउटा ऐतिहासिक पदक दिलाउनुभयो । आइतबार मोरोक्कोको रावतमा भएको कराते–१ प्रिमियर लिगअन्तर्गत महिला ६८ केजीमाथि तौलमा २१ वर्षीया एरिकाले कांस्य पदक जित्नुभएको हो । यो नेपाली करातेमा सबैभन्दा ठूलो पदकसमेत हो ।
विश्व करातेमा ५०औं रेन्किङकी एरिकाले २०औं रेन्किङ प्राप्त फ्रान्सकी पीए क्लेमेन्सलाई ६–२ ले हराएर कांस्य पदक जित्नुभयो । यस प्रतियोगितामा विश्व करातेका शीर्ष ३२ खेलाडीले भाग लिने भए पनि केहीले भाग नलिएपछि पर्खाइ सूची (वेटिङ लिस्ट)माकब रहेकी एरिकाले खेल्ने अवसर पाउनुभएको हो । यो अवसरलाई उहाँले इतिहास बनाइदिनुभयो । एरिकाले यस प्रतियोगितामा विश्वका चर्चित खेलाडीहरूसँग प्रतिस्पर्धा गरेर पहिलो सहभागितामै पदक जित्न सफल हुनुभयो । यो नेपाली खेलाडीले यस प्रतियोगितामा पदक जितेको पनि पहिलोपटक हो ।
यसअघि सन् २००४ देखि नेपाली करातेका खेलाडीले भाग लिइरहे पनि प्रतियोगितामा पदक जित्न सकेका थिएनन् । एरिकाले हालसम्म जति पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नुभयो त्यसमा हालै उज्ज्वेकिस्तानमा सम्पन्न प्रतियोगिताबाहेक सबैजसोमा पदक जित्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय पहिलोपदक २०२३ मा इन्डोनेसियामा भएको विश्व कराते च्याम्पियनसिपमा स्वर्णका रूपमा जित्नुभएको थियो । यहीँबाट उहाँको सुनौलो यात्राको श्रीगणेश भयो । यसपछि चीनमा भएको १९औं एसियाली खेलकुद २०२३ मा एरिकाले रजत पदक जित्नुभयो ।
करातेमा एसियाली खेलकुदमा रजत पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभयो । एसियाली खेलकुदको इतिहासमा उहाँ रजत पदक जित्ने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि १९९८ को बैंकक एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जित्नुभएको थियो । हाल उहाँ अमेरिकामा हुनुहुन्छ । एसियाली खेलकुदमा पाएको सफलताले एरिकाको प्रदर्शनमा झन्झन् निखार आयो । नेपाल पुलिस क्लबसँग आबद्ध एरिकाले यूएस ओपन कराते च्याम्पियनसिप २०२४ मा स्वर्ण र रजत पदक हासिल गर्नुभयो । यसपछि उहाँले भुटानमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा स्वर्ण पदक नै जित्नुभयो । उहाँको यो तेस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।
त्यस्तै, २०औं सिनियर एसियन कराते च्याम्पियनसिपमा रजत पदक जितेर एरिकाले नेपाली खेलकुदमा नयाँ आयाम थप्नुभयो । यस प्रतियोगितामा नेपालले सहभागिता जनाएको दशकौं हुँदा पनि पदक जित्न सकेको थिएन । तर, यो पदक खडेरी तोड्नुभयो एरिकाले । साथै उहाँ करातेतर्फ एसियाली खेलकुद र एसियाली प्रतियोगितामा रजत जित्ने एकमात्र नेपाली खेलाडीसमेत बन्नु्भयो । यस्तै, एरिकाले अस्टे«लियन ओपन कराते प्रतियोगिता २०२५ मा पनि स्वर्ण जित्नुभयो । हिमालयन वारियर उपनामले परिचित उहाँको यो चौथो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।











प्रतिक्रिया