नेपालमा २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि नै बिस्तारै जीवनोपयोगी व्यावसायिक शिक्षाको अवधारणा आएको हो । यस अवधारणाले बिस्तारै गति लिन थालेको कुरालाई नकार्न सकिँदैन । हुन त राजधानीको नजिक भएर पनि हाम्रो गाउँ मण्डन देउपुरमा माध्यमिक विद्यालय २०३६ सालमा मात्र स्थापना हुन पुग्यो । विद्यालय स्थापनामा ढिलाइ भएकै कारण यस भेगका नागरिकहरु व्यापार, उद्योग, निजामती र जङ्गी सेवाको विशिष्ट तहमा पुग्न ढिला भएको अनुभूति हामी सबैले गरेकै छौँ ।
तथापि ढिलै गरी भए पनि २०३६ सालमा यहाँका स्थानीय सामाजिक अगुवा, राजनीतिकर्मी, व्यवसायी र शिक्षाको महत्व बुझेका अग्रजहरुले श्री डेडीथुम्का माध्यमिक विद्यालयको स्थापना गरिदिनुभएका कारण हामीले २०३८ सालदेखि एसएलसी परीक्षामा समावेश हुने अवसर पायौँ । त्यतिखेरको समाजमा विद्यमान अभाव नै अभावका बीच यो श्री डेडीथुम्का मा.वि. स्थापना गर्ने संस्थापक व्यक्तित्वहरु, संस्थापक प्र.अ. र गुरुहरु, विद्यालय सहयोग समिति, सामाजिक अगुवा, चन्दादाता एवं साबिक महादेवस्थानलगायत वरपरका सहयोगी तत्कालीन गाउँपञ्चायत पदाधिकारीज्यूहरुलाई हामी पूर्वविद्यार्थी सबैले यो शैक्षिक सम्मेलनमार्फत धन्यवाद दिँदै आभार व्यक्त गर्नै पर्दछ ।यस विद्यालयबाट अध्ययन पूरा गरेका थुपै विद्यार्थी साथीहरु सेना, प्रहरी, निजामती, वित्तीय संस्था, कानुन व्यवसाय, व्यापार, उद्योग, पर्यटन, चिकित्सा क्षेत्र, गैरसरकारी संस्था, वैदेशिक क्षेत्र, विज्ञान तथा प्रविधि एवं राजनीतिक क्षेत्रमा समेत क्रियाशील रहँदै आएका छौँ । यसरी विभिन्न क्षेत्रमा आबद्ध हामीले आ–आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छौँ ।
यही क्रममा जब राज्य पुनर्संरचना भयो, त्यसपछि बनेका तिनै तहको सरकारमा यहाँका विद्यार्थीले ओजिलो उपस्थिति जनाएका छौँ । यो उपलब्धिलाई डेडीथुम्का मा.वि.ले आफ्नो सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्दछ ।हामी पूर्वविद्यार्थीले अहिले बनाएको पहिचान र उपलब्धिको बलियो जग यही विद्यालयले बसाइदिएकाले यसको गरिमा उच्च बनाउने कर्तव्य पनि हाम्रो हो । त्यसैले सम्पूर्ण पूर्वविद्यार्थीको तर्फबाट आज यो शिक्षा सम्मेलनको आयोजना गर्नु हाम्रो कर्तव्य बनेको छ । यही कर्तव्य पूरा गर्ने प्रयासका लागि यो शैक्षिक सम्मेलन आयोजक समितिको अध्यक्षता गर्ने अवसर मलाई दिनुभएकोमा सम्बद्ध सबैमा आभार व्यक्त गर्दछु । आजको यस सम्मेलनपश्चात् डेडीथुम्का पूर्वविद्यार्थीहरुको एउटै साझा संस्था बनी सबैले आ–आफ्नो तर्फबाट यस विद्यालयलाई योगदान गर्न सक्ने साझा मञ्च सृजना हुने अपेक्षा छ ।
साथै यस शैक्षिक सम्मेलनको निष्कर्षले समग्र मण्डनदेउपुर र श्री डेडीथुम्का मा.वि.को शैक्षिक उन्नयनमा ओजिलो उपलब्धि हासिल गर्नेछ भन्ने अपेक्षा आयोजक समितिले राखेको छ ।विशेष गरी आज यो गरिमामय सम्मेलनमा प्राविधिक शिक्षा, माध्यमिक शिक्षा, बालशिक्षा, उच्च शिक्षा र जीवनपर्यन्त सिकाइ गरी पाँच विषयमा मुख्य विचार समेटिएका अवधारणा–पत्रहरु प्रस्तुत गरिएका छन् । प्रस्तुत कार्यपत्र र यसबाट निकालिएको निष्कर्षले श्री डेडीथुम्का मा.वि. एवं मण्डनदेउपुर नगरको शैक्षिक गन्तव्यका साथै यसको उपलब्धि एकिन गर्नेछ । त्यसपछि स्थानीय शिक्षामा प्रगति भएर आउँदो पुस्तामा जीवन उपयोगी ज्ञान, सीप र दक्षता प्राप्त भई हाम्रो समाज लावान्वित हुनेछ । यस कार्यबाट पूर्वविद्यार्थी एवं अध्ययन गरिरहेका सबै विद्यार्थीले यस विद्यालयप्रति आफूहरु ऋणी भएको महसुस गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
माथि उल्लिखित अवधारणापत्रका विषयमध्ये मेरो जिम्मेवारीमा रहेको प्राविधिक शिक्षातर्फ ‘जीवनोपयोगी व्यावसायिक शिक्षा’ नामक अवधारणा–पत्र तयार गरी प्रस्तुत गरेको छु । यसले माध्यभिक तहमा शिक्षाको नयाँ धार सृजना गर्नेछ भन्ने लागेको छ । चुनौती र अवसर मिश्रित यो अवधारणाले स्वदेश तथा विदेशमा रोजगारी र स्वरोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरेको छु ।
यस अवधारणा–पत्रमा ‘जीवन उपयोगी प्राविधिक शिक्षा कस्तो हुनुपर्छ ? कक्षाकोठाभित्र र कार्यक्षेत्रमा सिकाउने पाठ्यवस्तु कस्तो हुनुपर्छ ? विषयगत शिक्षक व्यवस्थापन कसरी हुन्छ ? अविभावकलाई व्ययभार नपर्ने र विद्यार्थीलाई विषयगत बोझ धेर नहुने उपाय के होे ? नगरपालिका र सम्बन्धित विद्यालयले विद्यार्थीलाई सीप, ज्ञान र प्राविधि सिकाउने कस्तो हुन्छ ? जस्ता विषय समेटेको छु । त्यस्तै स्थानीय सरकारको आवश्यकता, विद्यार्थी र अविभावकको आजको चाहना कसरी पूरा हुन सक्छ ? विद्यार्थीलाई उत्पादनमा सहभागिता, पेसामा दक्षता, श्रमबजारको ज्ञान, स्वरोजगार तथा रोजगार सृजना गराउने विधिमा कसरी जोड्ने ? शैक्षिक सत्रभित्र नै सकिने पाठ्यवस्तु प्रभावकारी बनाएर कसरी समावेश गर्ने ? भन्ने कुरा पनि समावेश गरेको छु । गरिखाने जीवनोपयोगी शिक्षामा सीप र प्रविधि विद्यार्थीलाई सिकाउने उद्देश्यका साथ माध्यमिक तहको कक्षा ९, १०, ११ र १२ मा लागू गर्न यो नगरस्तरीय प्राविधिक शिक्षाको अवधारणा–पत्र तयार गरिएको हो ।
यो अवधारणा–पत्रलाई आधार मानी पाठ्यक्रमको निर्माण गर्ने, पाठ्यक्रमको उद्देश्य प्रस्ट्याउने, सरल पाठ्यवस्तु बनाउने, उत्कृष्ट शिक्षण विधि र सिकाइको ढाँचा तयार गर्ने, सिकाइको समयावधि र सिकाइका लागि शैक्षिक सामग्री एकिन गर्ने, सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराएपछि अनिवार्य लिनुपर्ने लिखित एवं प्रयोगात्मक परीक्षा र सोको मूल्याङ्कन विधि निर्माण गर्नेजस्ता महत्वपूर्ण शैक्षिक कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । यो काम विषयगत ज्ञान र दक्षता भएका विषय विज्ञबाट मात्र सम्भव छ । पेसागत परिषद्सँग आबद्ध विज्ञहरुको साथ र सहयोगबाट मात्र यस्तो पाठ्यक्रम निर्माणको काम पूरा हुनेछ । त्यसपछि यो कक्षाकोठामा पठनपाठन गराउन योग्य हुनेछ । यो काम नगरपालिकाले गर्नुपर्दछ ।यसरी तयार भएको पाठ्यक्रम नगरमा भएका सबै मा.वि.मा अध्यापन गराउन भने पनि थप दरबन्दी र ठूलो बजेटको आवश्यकता पर्दैन ।
तर व्यवस्थापन पक्ष चुस्त र दुरुस्त हुनुपर्दछ । यो पाठ्यपुस्तक र पाठ्यवस्तुको अध्ययन–अध्यापनका लागि सम्बन्धित विद्यालयको एकजना शिक्षकलाई यस विषयमा अभिमुखीकरण गराउने, वडा कार्यालयमा कार्यरत पशु प्राविधिक, कृषि प्राविधिक, इन्जिनियर र नगरकोटका होटल व्यवसायीको साथ–सहयोगमा ज्ञान र सीप दिने अवस्था सृजना भएमा यसलाई कम खर्चमा सहजै कार्यान्वयन गराउन सकिन्छ ।
त्यसपछि यस नगरको सामुदायिक विद्यालयको साख माथि उठ्नेछ र यहाँका विद्यालयमा पढ्नका लागि वरपरका गाउँबाट समेत विद्यार्थी आउने वातावरण बन्नेछ । प्रस्तावित जीवनोपयोगी व्यावसायिक शिक्षाको पाठ्यक्रममा समावेश हुने विषयमा बाली विज्ञान, पशुपालन, कम्प्युटर ज्ञान र पर्यटन प्रवद्र्धनमा सीप हुनुपर्ने कुरामा जोड दिएको छु ।हुन त नयाँ पाठ्यक्रम निर्माण गर्नु र त्यसलाई लागू गर्नु त्यति सजिलो विषय होइन ।
किनकि पाठ्यक्रम निर्माणका विषयमा विश्वविख्यात हिल्टा टावा, फ्रोबेल, मेसोजस्ता विद्वान्हरुको पनि मत विभाजन भएको छ । तर पाठ्क्रम भनेको विषयगत ज्ञान आर्जनका लागि बनाइएको संगठित पाठ्यांशको शैक्षिक कार्ययोजना हो भन्नेमा भने अधिकांश विद्वान्हरु एकमत देखिन्छन् । त्यसैले यो पाठ्यक्रम निर्माण गर्दा पनि हामीले माथि उल्लिखित विषयलाई ध्यानमा राखेर निर्माण पूरा गर्नुपर्दछ । यसका लागि विषयगत दक्षता भएका व्यावसायिक पाठ्यक्रम निर्माताहरुको आवश्यकता पर्नेछ ।
नेपालको संविधान २०७२ ले कक्षा १ देखि कक्षा ८ सम्म पालिकालाई स्थानीय पाठ्क्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । त्यसको कार्यान्वयन हाम्रो नगरमा पनि भएको छ । तर त्यो पाठ्यक्रम आय आर्जजनमा जोडिँदैन । तसर्थ माध्यमिक तहका युवालाई गरिखान सिकाउने उद्देश्यले यो सीपमूलक शिक्षाको पाठ्यक्रमको प्रस्ताव अगाडि सारिएको हो ।
यसलाई यस सम्मेलनले गहिरो अध्ययन, अनुसन्धान, विचार, विमर्श र प्राज्ञिक बहस गर्दै यहाँको समाज, व्यक्ति र राष्ट्रलाई समेत उपयोगी हुने सामग्री निर्माण गर्नेछ । साथै जीवनोपयोगी व्यावसायिक विषयवस्तु समावेश भएको ज्ञानमूलक शिक्षाको पाठ्यक्रम तयार गरी लागू गर्न स्थानीय सरकारलाई सिफारिस गर्नेछ भन्ने अपेक्षा छ ।‘देउपुर र मण्डन कृषि र पर्यटन’ हाम्रो नगरको मूल नारा हो । यसैलाई नगरपालिकाले आफ्नो लक्ष्य बनाएको छ । तसर्थ नगरभित्रका मा.वि.हरुमा कृषि, पशुपालन, पर्यटन, जीवनपर्यन्त सिकाइ र कम्प्युटर विषयलाई प्राथमिकता दिन खोजिएको हो ।
यसबाट नगरपालिकाको उद्देश्य पूरा हुने देखिन्छ । यहाँको जैविक विविधतामा खाद्यान्न, तरकारी, फलपूmल, दूध, दही, घिउ, मह, माछा, मासु, पुष्प, च्याउ, बाँस, जडीबुटी, अलैँची, ओखरजस्ता उत्पादन र व्यावसायिक रुपमा पशुपालन गराउँदै नगरवासीलाई सुखी एवं सम्पन्न गराउन सकिन्छ भन्ने मूल उद्देश्य राखिएको छ । त्यसका अतिरिक्त आन्तरिक र बाह्य पर्यटकहरुको अत्यधिक रोजाइमा परेको नगरकोट पर्यटकीय क्षेत्र र त्यहाँ बनेका होटलहरुमा सीपयुक्त जनशक्तिको सप्लाइ गर्ने तथा घुम्न आएका पाहुनालाई आवश्यक खानेकुरा स्थानीय उत्पादनबाट उपलब्ध रगराउने कार्यमा यो पाठ्यक्रम उपयोगी हुनेछ । उल्लिखित उद्देश्य पूरा गर्न हाम्रा मा.वि.हरुमा यो विषयको पठनपाठन कोसेढुङ्गा साबित हुनेछ ।
त्यसपछि मात्र यहाँको कृषि र पशुपालनमा वैज्ञानिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणमा उल्लेख्य उन्नति हुनेछ । साथै पर्यटन प्रवद्र्धनको समग्र क्षेत्रमा हाम्रा क्षमतावान् नागरिकहरु सीप र दक्षता बोकेर समावेश भएका हुनेछन् । यही उपलब्धि देख्न र भोग्नका लागि नै हो यो ‘जीवनोपयोगी व्यावसायिक शिक्षा’ को प्रारम्भिक अवधारणा–पत्र तयार गरिएको र विषय विज्ञद्वारा पाठ्यक्रम एवं पाठ्यवस्तुको निर्माण गरौं भनिएको । हुन त यो प्रस्तावित अवधारणा–पत्रमा समेटिएका विषयवस्तु पाठ्यक्रम निर्माणका लागि पूर्ण नहुन सक्छन् ।
त्यसैले आगामी कार्यशालाहरुमा क्रमशः पूर्णता दिँदै जानुपर्दछ । आवश्यक सबै प्रक्रिया पूरा गरिसक्दा यो पाठ्यक्रम उत्कृष्ट हुनेछ र पाठ्यवस्तुमा समावेश भएका विषय पढेर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले हाम्रा विद्यालयमा सिकेको ज्ञान र सीपलाई स्वदेशी एवं विदेशी श्रमबजारमा सजिलै बिक्री गर्न सक्नेछन् । त्यसपछि उनीहरुले उत्कृष्ट जीवनयापन गर्न सक्षम हुनेछन् भन्ने अपेक्षा गरिन्छ ।
(श्री डेडीथुम्का मा.वि. काभ्रेको पूर्वविद्यार्थी शिक्षा सम्मेलनमा गत जेठ १५ मा प्रस्तुत एक अवधारणापत्रको सम्पादित अंश ।)











प्रतिक्रिया