गाउफ र एन्ड्रीभा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा


लन्डन ।

महिलातर्फकी विश्व नम्बर दुई कोको गाउफ पेरिसमा जारी फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेकी छन् । अमेरिकी खेलाडी गाउफले रुसकी एकातेरिना एलेक्सान्द्रोभामाथि ६–०, ७–५ को सीधा जित निकालेकी हुन् । २०२२ की फाइनलिस्ट उनी प्रतियोगितामा लगातार पाँचौं वर्ष अन्तिम आठमा पुगेकी छन् ।

एलेक्सान्द्रोभा फ्रेन्च ओपनमा पहिलो पटक अन्तिम १६ मा पुगेकी हुन् । उनको यात्रा यही समाप्त भएपनि अर्की रुसी खेलाडी मीर्रा एन्द्रीभा भने अन्तिम आठमा पुगेकी छन् । युवा खेलाडी एन्द्रीभाले उनकै देशकी दारिया कासात्कीनालाई सीधा सेटमा हराएकी थिइन् । कासात्कीनाको लागि दोस्रो सेट जित्ने मौका थियो । उनले ५–३ को अग्रता लिएकी थिइन् । सेट १–१ बराबरी गर्न एक सर्भिस गेम मात्रै जित्नु थियो । तर, उनले लय गुमाउँदा एन्द्रीभाले लगातार चार सर्भिस गेम जितेर खेलसमेत जित्न सफल भइन् ।