नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई


काठमाडौं ।
किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फाको भवनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टोलीको बिदाइ गरेका हुन् । एक मैत्री खेल र छनोट खेल खेल्ने नेपाली टोली आज हङकङ जाने जनाइएको छ ।२३ सदस्यीयको नेपाली टोली खेल्न जाने भएपनि साथमा एन्फाका १५ जना पदाधिकारी पनि जाने तयारीमा छ ।

जम्मै गरी ३८ जनाको जम्बो टोली हङकङ जाँदैंछ । हङकङमा मैत्रीपूर्ण खेल खेलेपछि यो टोली लाओसमा खेल्नको लागि जाने छ । नेपालले यही जुन १० (जेठ २७ गते) मा एएफसी एसियन कप साउदी अरेबिया २०२७ छनोटअन्तर्गत खेलमा लाओसविरुद्ध सामना गर्नेछ । यो खेल खेल्न अघि यही बिहीबार हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

एसियन कप छनोटअन्तर्गत समूह एफ को गत मार्चमा भएको खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । यो समूहमा अर्को एक टोली भियतनाम रहेको छ । अहिलेसम्म एक एक खेलेकोमा भियतनाम र मलेसियाले जित निकालेका छन् भने नेपाल र लाओसले हार बेहोरेका छन् ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), रोहित चन्द, जिलेस्पिजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ, सुमीत श्रेष्ठ ।
नयाँ खेलाडी—सृजनराज गौतम र कुशल देउवा ।