रिशोनले विदेशी खेलाडीलाई हराएर जिते उपाधि


काठमाडौं।

रिशोन थापाले काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे ¥यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
काठमाडौंको वडा नं. २४ ले सञ्चालन गरेको १९ सय रेटिङ्गमुनि बुद्धिचाल स्पर्धामा उपाधि जित्दै नेपालका रिशोनले २५ हजार रुपैयाँ पनि प्राप्त गरे । उनले फिलिपिन्स, भारत, अमेरिका र इङल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

१६ विदेशी खेलाडी सम्मिलित १ सय ५४ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा रिशोनले ८.५ अंक जोडेका हुन् । १० मिनेट र प्रत्येक चालमा १० सेकेण्ड इन्क्रिजमेण्ट टाइमिङ्ग थपिने ¥यापिड चेस प्रतिस्पर्धामा नेपालकै प्रेमकृष्ण महर्जन दोस्रो भए ।

समान ७.५ अंक जोडेपनि भारतका शुभम् कुमार तेस्रो स्थानमा रहे । प्रेमकृष्णले डाइरेक्ट इन्काउण्टर र बुकोल्ज्स् ५२ टाइब्रेक प्वाइन्टको आधारमा भारतीय खेलाडीलाई पछार्न सफल भए । प्रेमकृष्णले १५ हजार र शुभम्ले १० हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौंको इटुम्बहाल चोकमा भएको प्रतियोगितामा ८ खेलाडीले समान ७ अंक जोडे । नेपालका विजेश राजकर्णीकारले ५२.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थान प्राप्त गरे । नेपालका सुरज सिं पाँचौं, फिलिपिन्सका लाउरोन जोन पाउल छैटौं, नेपालका मिसन दाहाल सातौं, सिएम भगवती प्रसाद शर्मा आठौं, सुशील सुवेदी नवौं र सन्देश श्रेष्ठ दशौं भए ।

स्थानीयतर्फ नरेश स्थापित पहिलो भए भने शुभनदीप थापा दोस्रो, अनरेटेडतर्फ राजेश राई पहिलो र इङल्याण्डका खेलाडी जोसेफ इनल दोस्रो, सिनियरतर्फ जनार्दन श्रेष्ठ पहिलो र आशानारायण लवट दोस्रो भए । महिलातर्फ उत्कृष्ट बन्दै शान्ति धिमाल विजयी भइन् । सिन्दिरा जोशी दोस्रो भइन् ।