मायाको संसार अनौठो छ । कहिले फूल जस्तै कोमल, कहिले आगो जस्तै ज्वालामुखी । कतिपय प्रेम कथाहरू यस्ता हुन्छन्, जसले संसारकै ध्यान तान्छन्। यस्तै एक अद्भुत, यथार्थ तर सम्झनालायक प्रेमकथा बनेकी छन् स्पेनिस फुटबलका स्टार पाब्लो गाभी । यो कथा केवल फुटबल मैदानको होइन, यो कथा हो माया, समर्पण र सपना रोज्ने साहसको ।
पाब्लो गाभी, सधैं बलसँग खेल्दै, मैदानको राजा बन्ने सपना सजाउँदै, साधारण परिवारबाट आएका एक युवा । बार्सिलोनाको मिडफिल्ड सम्हाल्ने यो युवकले सन् २०२२ को विश्वकपमा कोष्टारिकाविरुद्ध गोल गर्दै विश्वभर नाम कमाए । त्यही खेलमा उनले “म्यान अफ द म्याच“ को उपाधि हात पारे । स्पेनका राजा फिलिप छैटौं स्वयं ड्रेसिङ रुमसम्म पुगे, गाभीसँग भेट गरे, अनि गाभीको ९ नम्बरको जर्सीमा हस्ताक्षर लिए । त्यो हस्ताक्षर, राजकुमारी लियोनोरका लागि थियो ।
राजकुमारी लियोनोर, स्पेनको जेठी राजकुमारी । सुन्दरताको प्रतीक, बौद्धिकताको अवतार । गाभीको खेलकला र आत्मविश्वासले उनी प्रभावित भइन् । चाँडै नै राजमहलबाट प्रेम प्रस्ताव आयो । यो प्रस्ताव कुनै सामान्य व्यक्तिबाट थिएन, एउटी राजकुमारीबाट थियो । सायदै उनीजस्तो युवतीले प्रस्ताव गर्दा नकार्ने साहस थोरैलाई मात्र हुन्छ । तर, गाभीले भने यो प्रस्ताव नम्रतापूर्वक अस्वीकार गरे ।
राजकुमारीलाई अस्वीकार गर्ने गाभीको निर्णयको पछाडि कारण थियो आना पेलायो । २२ वर्षकी आना सेभिलमा बस्ने एक विद्यार्थी, स्टाइलिस्ट, र सामाजिक प्रभावशाली युवती हुन् । उनी गाभीकी बहिनीकी साथी थिइन् । जब गाभी घुँडाको चोटपछि शल्यक्रियाबाट गुज्रिरहेका थिए, आना दिनरात उनको साथमा थिइन् । प्रेम त्यहीँदेखि फुल्न थाल्यो, सात्त्विक, न्यानो र गहिरो रुपमा ।
गत वर्ष ग्रीष्मकालमा आना पेलायोले गाभीकी आमासँगको फोटो साझा गरेकी थिइन् । अनि त्यस दिनबाट गाभीको प्रेमकथा सार्वजनिक रूपमा सुरु भयो। कोपा डेल रे को फाइनलमा बार्सिलोनाको जितपछि आना मैदानमा गाभीको साथमा थिइन् । अनि मे १८ मा हजारौं दर्शकबीच गाभीले सार्वजनिक रूपमा प्रेमिकालाई अंगालो हाले, जुन भिडियो भाइरल बन्यो ।
गाभी सामु दुईवटा बाटो थियो । राजकुमारीसँगको सम्बन्ध स्वीकारेर राजसी जीवनमा प्रवेश गर्ने अथवा आफ्नो सपना र मायाको साथ रोज्ने । तर, राजपरिवारसँग विवाहको अर्थ थियो दरबारभित्र सीमित जीवन, फुटबल करियरमा ब्रेक, स्वतन्त्रताको अन्त्य । गाभीले निर्णय गरे । उनी फुटबलका लागि जन्मेका हुन् । उनी मैदानमा दौडिन चाहन्छन् गोलका लागि । अनि उनले रोजे आना पेलायोला । त्यही युवती जसले संकटमा उनको साथ दिएकी थिइन् ।
गाभीको ‘अस्वीकार’ ले संसार हल्लियो । यो केवल एउटा अस्वीकार होइन, यो एउटा सन्देश थियो । पैसा र सत्ता सबैथोक होइन । साँचो माया, समर्पण र आफ्नो सपना नै सबैभन्दा ठूलो शक्ति हो भन्ने । गाभी अब केवल फुटबल स्टार होइनन्, उनी युवापुस्ताका लागि एक प्रेरणा बनेका छन् । प्रेम त्यही हो, जसले संकटमा पनि साथ दिन्छ । पाब्लो गाभीको कथा कुनै परी कथा होइन, त्योभन्दा सुन्दर सत्यकथा हो जसमा प्रेमले फुटबललाई जितेको छ ।











प्रतिक्रिया