अंग प्रत्यारोपण क्षेत्रमा थप उपलब्धि


नेपालले अंग प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक उचाइ हासिल गरेको छ । पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । यो एक चिकित्सा उपलब्धि मात्र होइन, समग्र स्वास्थ्य प्रणालीमा सम्भावनाको नयाँ ढोका खुलेको संकेत हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा सम्पन्न यो प्रत्यारोपण कार्यले नेपालको चिकित्सा प्रणालीले अन्तर्राष्ट्रिय मापदण्डमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको पुष्टि गरेको छ । चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न यो जटिल शल्यक्रिया केवल एउटा व्यक्तिको जीवन बचाउने कार्य मात्र थिएन, यसले देशभरिका हजारौँ बिरामीहरूमा आशा पलाएको छ, जो वर्षौंदेखि अंग प्रत्यारोपणको पर्खाइमा छन् । नेपालमा प्रत्यारोपण प्रविधिको निरन्तर विकास हुँदै गर्दा यो सफलताले चिकित्सा क्षेत्रमा विश्वास र आत्मनिर्भरताको भावना थप बलियो बनाएको छ ।

यो सफलताले मात्र नेपालमा अंगदानको अवस्था सन्तोषजनक छ भन्ने संकेत भने गर्दैन, तथ्यांक हेर्ने हो भने, नेपालमा दैनिक दर्जनौँ मानिस मिर्गौला, कलेजोलगायतका अंग असफलताका कारण ज्यान गुमाइरहेका छन् । अर्कोतर्फ, सडक दुर्घटना वा अन्य कारणले मस्तिष्क मृत्युवरण गर्ने सयौँ व्यक्तिबाट अंगदान सम्भव भए पनि चेतनाको अभाव, सामाजिक, धार्मिक हिचकिचाहट र व्यवस्थागत कमजोरीका कारण ती अंगहरूको दान या प्रयोग आउन सकिरहेका छैनन् । नेपालमा हरेक वर्ष अनुमानित एक हजार मस्तिष्क मृत्यु हुने घटना हुन्छन् । तीमध्ये थोरै मात्र व्यक्तिका अंगहरू प्रयोगमा आउँछन् । यदि सही व्यवस्था, कानुनी स्पष्टता र सामाजिक समर्थन हुने हो भने, हजारौँ बिरामीको जीवन बचाउन सकिन्छ । यसका लागि सबै तहका सरोकारवालाहरू– सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदाय एकैसाथ जनचेतना अभियानमा लाग्न जरुरी छ ।

शहीद धर्मभक्त केन्द्रले १५–२० लाख रुपियाँ खर्चमा प्रत्यारोपण सेवा दिइरहेको छ, जुन अन्तर्राष्ट्रिय स्तरमा निकै सस्तो मानिन्छ । तर, यस्तो राष्ट्रिय महत्वको संस्थासँग आफ्नै भवन छैन, सेवा विस्तारमा गम्भीर बाधा छ र सरकारको ढिलासुस्तीले योजनाहरू अघि बढाउन समस्या भएको छ । सरकारले यसलाई ‘प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने घोषणा गरेको वर्षौं बितिसक्दा पनि ठोस कार्यान्वयनमा आएकोे छैन । यस्तो अवस्थामा यो सफल प्रत्यारोपण केवल चिकित्सा टोलीको समर्पण र व्यवस्थापन क्षमताले सम्भव भएको हो । समाजमा अझै अंगदानलाई लिएर भ्रम र डर व्याप्त छ । धेरैलाई मस्तिष्क मृत्युपछि अंगदान गर्नु धार्मिक, सामाजिक या नैतिक दृष्टिले उपयुक्त लाग्दैन । यस्ता भ्रम चिर्न व्यापक जनचेतना अभियान चलाउनु आवश्यक छ । विद्यालय, मिडिया, सामाजिक संस्थाहरूले अंगदानको महत्वबारे खुला संवादको वातावरण सिर्जना गर्नुपर्ने समय आएको छ ।

आजको उपलब्धिले नेपाललाई चिकित्सा आत्मनिर्भरतातर्फ लैजाँदै गरेको स्पष्ट देखिएको छ । तर, स्थायित्व र दिगोपनाको लागि यो प्रयासलाई संस्थागत बनाउनु आवश्यक छ । चिकित्सा इतिहासको यो उज्यालो पानालाई व्यापक बनाउन हामी सबैको साझा प्रतिबद्धता चाहिन्छ । सरकारले अंगदाताको परिवारलाई रु. २ लाख र अंगदाता अस्पताललाई रु. ७५ हजार सहयोग गर्ने निर्णय गर्नु स्वागतयोग्य छ । तर, यस्तो प्रोत्साहनसँगै जनस्तरसम्म पुग्ने प्रभावकारी जनचेतना अभियान, कानुनी सुधार र समन्वय प्रणाली अझ बलियो बनाइनु आवश्यक छ । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग संकलनको दर १० प्रतिशतसम्म पुग्न सके हजारौं बिरामीको जीवनमा नयाँ आशा पलाउन सक्छ । यो उपलब्धिलाई संस्थागतरूपमा मजबुत पार्ने, अंगदानप्रति सकारात्मक सोच विकास गर्ने र अंग प्रत्यारोपण प्रतीक्षारत हजारौं बिरामीको जीवन बचाउने दिशामा संगठित प्रयास गर्नु जरुरी छ ।