काठमाडौँ
पवित्र तीर्थस्थल देवघाटधाममा अवस्थित गलेश्वर आश्रमको शतवार्षिकी समारोह बुधबार सम्पन्न भएको छ । आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्न्यास आश्रमका पीठाधीश परमपूज्य श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी प्रतिनिधिसभाका सांसद शंकर भण्डारी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव डा. माधव अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले गलेश्वर आश्रमले सञ्चालन गरिरहेका सेवा र संस्कारमूलक कार्यहरूको प्रशंसा गर्दै ती कार्यहरूले चितवन र तनहुँ क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) द्वारा गरिएको हो । आश्रमले वेद–वेदाङ्ग शिक्षा केन्द्र, अन्न क्षेत्र, तिर्थालु र साधु–सन्तका लागि निःशुल्क भोजन तथा आवास, वृद्धवृद्धा र परित्यक्त व्यक्तिहरूका लागि कल्पवास सुविधा जस्ता विविध धार्मिक र सामाजिक सेवा सञ्चालन गर्दै आएको छ ।
आश्रम परिसरमै सञ्चालित धर्मार्थ अस्पतालमार्फत साधक र वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि सेवा दिइँदै आएको छ। त्यस्तै, एक हजारजना अट्ने क्षमताको अतिथि गृहमा निःशुल्क आवास र भोजनको सुविधा पनि प्रदान गरिन्छ । गलेश्वर आश्रमले वर्षभरि नै तिथिअनुसारका धार्मिक अनुष्ठान तथा संस्कारहरू पनि नियमित रूपमा आयोजना गर्दै आएको छ ।











प्रतिक्रिया