आज हामी एक यस्तो घडीमा उभिएका छौं, जहाँ हाम्रो समाजमा नकारात्मकताको बादल बाक्लिँदै गएको छ । गुनासो, आलोचना, हल्ला र अविश्वासको खेती हाम्रो दैनिक संस्कारझैँ बनिसकेको छ । सन्तुलित मूल्यांकनभन्दा धेरै एक–अर्कालाई तल पार्ने र अपमान गर्ने अस्वस्थ प्रवृत्ति हाबी हुँदै गएको छ । यस प्रवृत्तिले हामीलाई कहाँ पु¥याउला ? के मुलुकप्रति निराशा मात्रै पोखेर हामी देश बनाउन सक्छौ ? अरुलाई आरोप–प्रत्यारोप गरेर आनन्द मान्ने प्रवृत्तिले हामी कहिलेसम्म खुशी हुन सक्छौँ ? गम्भीर भएर सोचौँ ।
हो, संघीय लोकतान्त्रिक गणतन्त्र सञ्चालनका क्रममा शासकहरुले कैयौँ खोट लगाएका छन् । गल्तीहरु गरेका छन् । अपूरणीय कमीहरू छन् । तर यसले त्यो प्रणालीलाई नै अमान्य ठहर गर्न मिल्दैन । जति अपेक्षा गरिएको थियो, त्यो पूरा नभए पनि केही पनि नभएको भन्नु गम्भीर भ्रम हो । राजनीतिक प्रणालीको मूल्यांकन आलोचनाको आधारमा अवश्य गर्नुपर्छ, तर त्यो आलोचना तथ्यमा आधारित र सुधारका पक्षमा केन्द्रित हुनुपर्छ । नत्र हामी न सुधार गर्न सक्ने अवस्थामा रहन्छौं, न देशलाई सकारात्मक दिशातर्फ मोड्न सक्छौं ।
आज सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म निराशा, हल्ला, र उथलपनले स्थान पाएको छ । ‘कागले कान लग्यो’ भनेर कागको पछि दौडिने जमात बढ्दै गएको छ, जसले तथ्य जाँच्नुपर्ने पत्रकारिता, विश्लेषण गर्नुपर्ने नागरिक चेतना र नेतृत्वप्रतिको उत्तरदायित्व सबैलाई क्षतविक्षत बनाइरहेको छ । यो गम्भीर चिन्ता र चासोको विषय हो । अब समय आएको छ– यो प्रवृत्तिको अन्त्य गर्न । देश विकासका लागि नकारात्मक दृष्टिकोण होइन, सकारात्मक खबरदारी आवश्यक छ । सिर्जनशीलता, विवेक, समालोचनामूलक दृष्टिकोण र समाधान खोज्ने संस्कृति अबको अनिवार्य आवश्यकता हो ।
हामी नेताहरूको आलोचना गर्छौं, त्यो जायज छ । तर नेतृत्व सच्चिनुपर्छ भन्नुका साथै हामी जनताले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । कर तिर्ने, कानुन पालना गर्ने, तथ्यविना आरोप नलगाउने, र सकारात्मक सोचका साथ राष्ट्रिय बहसलाई अघि बढाउने काम हरेक नागरिकको दायित्व हो । नेताहरुलाई सच्चाउने गरी पैरवी गर्न छोड्नुहुँदैन तर पैरवीका नाममा जथाभावी गालीगलौज गर्नु सभ्य संस्कारविरोधी कार्य हो भन्नेमा पनि हामी सबै प्रस्ट हुन सक्नुपर्छ ।
नेपाल न त खत्तम भएको छ, न त बर्बाद । तर हामीले त्यसो भन्दै हल्ला फैलाउने हो भने यो देश बर्बाद हुने दिशाको शुरुआत अवश्य हुनेछ र त्यसको कारक हामी पनि हुनेछौँ । त्यसैले कसैले पनि नकारात्मक सोचलाई बढावा दिने गर्नुहुँदैन । बरु हरपल सिर्जनाका फूलहरु फुलाउने कार्यमा हामी सबै निरन्तर लागिरहनुपर्छ । त्यसैले पत्रकारिता होस् या जनमत, राजनीति होस् या प्रशासन, सबै क्षेत्रमा सत्य, विवेक र सकारात्मक सोचको सन्देश फैलाउनु आजको अत्यावश्यक कार्य हो । देश बनाउँछौं भने सबैले बनाउँछौं । यो समय हो– आशावादको बीजारोपण गर्ने, जिम्मेवारीको सिंचाइ गर्ने र विश्वासको फल उब्जाउने । नकारात्मक भावको समूल नष्ट नकारात्मकता होइन, निर्माणका लागि चेतनाको क्रान्ति आवश्यक छ ।











प्रतिक्रिया