काठमाडौं
महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामार्फत ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले जेठ ४ देखि १० गतेसम्म देशव्यापी रूपमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।
बैंकले महिला उद्यमशीलता, वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति र लैंगिक समानताको प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ । यस सम्मान कार्यक्रमले उद्यमशीलताको हौसला बढाउने विश्वास लिइएको छ ।
यसै अवसरमा बैंकले जेठ ६ गते देशभर १० शाखा र केन्द्रीय कार्यालयमार्फत बृहत रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । जसअन्तर्गत ३२० पिन्ट रगत संकलन गरिएको छ । रक्त अभावको चुनौतीलाई समाधान गर्न यो पहल गरिएको बैंकले जनाएको छ ।
वार्षिकोत्सवको क्रममा बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा सजिएर भौगोलिक र सांस्कृतिक विविधतालाई उजागर गर्ने कार्यक्रमसमेत गरिएको थियो । साथै, बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखाको शिविर पनि सञ्चालन गरिएको थियो ।
यसैगरी, कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतामूलक प्रभातफेरी समेत आयोजना गरिएको थियो । जसमा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण जस्ता सेवासम्बन्धी जनचेतनामूलक प्लेकार्डहरू प्रयोग गरिएको थियो ।
बैंकको वार्षिकोत्सवको विशेष कार्यक्रमको रूपमा रहेको ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५’ को चौथो श्रृङ्खला जेठ २१ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ, जसमा २४ टिमको सहभागिता रहनेछ ।











प्रतिक्रिया